SEBON Chat(Beta Version)
नेपाल धितोपत्र बोर्डले मिति २०८२/०२/३० र २०८२/०३/०४ मा धितोपत्र दलाल व्यवसायी र धितोपत्र व्यापारीको कर्मचारीलाई "सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा ग्राहक पहिचान गर्दा AML/CFT/CPF सम्बन्धी ध्यान दिनुपर्ने विषयहरु तथा निर्देशनको परिपालना सम्बन्धी" तालिम/अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त तालिम/अभिमुखिकरण कार्यक्रममा धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीका ९३ जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा बोर्डका का.मु. कार्यकारी निर्देशक श्री रुपेश के.सी.ले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा आवश्यक कानूनी तथा नीतिगत व्यवस्था भईसकेको सन्दर्भमा सोको कार्यान्वयनमा प्रभावकारी भूमिका खेल्न सबैले जोड दिनुपर्ने र धितोपत्र व्यवसायीको क्षमता अभिवृद्धि गर्ने यस प्रकारको कार्यक्रम आगामी दिनमा समेत सञ्चालन गरिने बताउनुभयो । त्यस्तै, बोर्डका उप कार्यकारी निर्देशक श्री दिपेश ताम्राकारले AML/CFT/CPF सम्बन्धी व्यवस्थाको कार्यान्वयन पक्षमा सुधार भईरहेको बताउँदै सहभागीहरुले यस कार्यक्रमबाट सिकेका कुरालाई आगामी दिनमा समेत प्रभावकारी रुपमा कार्यान्वयन गर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा बोर्डको सम्पत्ति शुद्धीकरण निवारण शाखाका निर्देशक श्री रितम्भरा बस्नेतले AML/CFT/CPF सम्बन्धी आधारभूत अवधारणा, ग्राहक पहिचान सम्बन्धमा सूचक संस्थाको कर्मचारीहरुको भूमिका, ग्राहकहरुको जोखिम मूल्याङ्कन प्रणाली, धितोपत्र सम्बन्धी कसूर, बोर्ड तथा वित्तीय जानकारी इकाईमा रिपोर्टिङ्ग गर्नुपर्ने विषयवस्तुहरु, सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापबाट धितोपत्र क्षेत्रमा हुन सक्ने वित्तीय लगानी निवारण सम्बन्धमा ध्यान दिनुपर्ने लगायतका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने सो शाखाका सहायक निर्देशक श्री भुवन देसारले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि विभिन्न कानूनी व्यवस्थाहरु गरेको र सोको परिपालना सम्बन्धमा सूचक संस्थाको जोखिममा आधारित सुपरिवेक्षण गरिरहेको छ । त्यस्तै यस सम्बन्धी विषयमा सूचक संस्थाहरुको क्षमता अभिवृद्धिका लागि बोर्डले विभिन्न तालिम/अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने क्रममा मर्चेन्ट बैंकरका कार्यान्वयन अधिकारीहरुलाई Targeted Financial Sanctions (TFS) र सूचक संस्थाले उच्च पदस्थ व्यक्ति, वास्तविक धनी, सूचीकृत व्यक्ति, Criminal Record, Adverse Information लगायत अन्य विषयको Screening सम्बन्धी विस्तृत कार्यविधि बनाउने विषयमा मिति २०८१/१०/१३ मा र बोर्डबाट अनुमतिपत्र प्राप्त विशिष्टीकृत लगानी कोष व्यवस्थापकहरुको कार्यान्वयन अधिकारीलाई मिति २०८२/०१/३० मा उक्त कोष व्यवस्थापकले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानून बमोजिम गर्नुपर्ने कार्यहरुको सम्बन्धमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । यसरी बोर्डले यस आ.व. मा सूचक संस्थाका १५१ कर्मचारीहरुलाई AML/CFT/CPF सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
यस प्रकारको कार्यक्रमबाट धितोपत्र बजार सहभागीहरुको क्षमता अभिवृद्धि भई सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका साथै स्चच्छ, पारदर्शी तथा प्रभावकारी धितोपत्र बजारको विकासमा थप सहयोग पुग्ने बोर्डले विश्वास लिएको छ ।
मिति: २०८२/०३/०६