SEBON Chat(Beta Version)
नेपाल धितोपत्र बोर्डको आर्थिक वर्ष २०८२/८३ को धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम तर्जुमाका लागि सम्बन्धित तथा सरोकारवाला पक्षहरूसँग छलफल/सुझाव संकलन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बोर्ड अध्यक्ष श्री सन्तोष नारायण श्रेष्ठले बोर्डले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माणको सन्दर्भमा पुँजी बजार एउटा साझा प्रणाली रहेको र यसको सम्बृद्धि, सम्मुनति र स्थायित्वमा यसका सरोकारवाला पक्षहरू, नियामक निकाय, लगानीकर्ता, बजार सहभागी लगायत सूचीकृत संगठित संस्थाहरू सबैको सक्रिय सहभागिता र सहमतिको आवश्यकतामा जोड दिनु भयो । बोर्डको नीति तथा कार्यक्रमको लक्ष्य भनेकै बजारलाई सन्तुलित रूपमा विकास र विस्तारका साथै समस्त पुँजी बजारलाई पारदर्शी, विश्वसनीय बनाउने र यसका लागि सबैको साथ सहयोगको अपेक्षा राखेको धारणा राख्नु भएको थियो ।
सो कार्यक्रममा नेप्से, सिडिएस, धितोपत्र व्यवसायीका प्रतिनिधिमुलक संस्थाहरू, लगानीकर्ताहरू सम्बद्ध संघ संस्थाहरू तथा आर्थिक पत्रकारसँग सम्बद्ध प्रतिनिधिमुलक संस्थाहरू लगायत अन्य सम्बन्धित सरोकारवाला संस्थाका प्रतिनिधिहरूबाट विभिन्न सुझावहरू प्राप्त भएको थियो । यसरी प्राप्त सल्लाह/सुझावहरू समेतलाई दृष्टिगत गर्दै बोर्डबाट अगामी आर्थिक वर्ष २०८२/८३ को धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गरिनेछ ।