पूँजी बजार तथा वस्तु विनिमय बजार सम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न ।

बोर्डले लगानीकर्ता प्रशिक्षण कार्यक्रम देशभर विभिन्न स्थानहरुमा संचालन गरिरहेकोमा हालसालै बागलुङ्गको औद्योगिक केन्द्र वुर्तिवाङ्ग, जिल्ला सदरमुकाम बागलुङ्ग बजार, आदिकवी भानुभक्त बहुमुखी क्याम्पस तनहुँ र निलकण्ठ बहुमुखी क्याम्पस धादिङ्गमा पूँजी बजार तथा वस्तु विनिमय बजारसम्बन्धी लगानीकर्ता सचेतना तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय उद्योगी, व्यापारी, विद्यार्थी, लगानीकर्ता, सरकारी निकायका पदाधिकारी, व्यवसायी, पत्रकार तथा सर्वसाधारणको सहभागितामा रहेको उक्त कार्यक्रमहरुमा वित्तीय तथा पूँजी बजारको महत्व, पूँजी बजार संयन्त्र, कानूनी संरचना, धितोपत्रको प्राथमिक तथा दोस्रो बजार, धितोपत्र व्यवसाय, लगानीकर्ता हकहित संरक्षण तथा वस्तु विनिमय बजारको परिचय र महत्वसम्बन्धी विषयहरु समेटि पूँजी बजारका परिचयात्मक तथा आधारभूत पक्ष विषयक कार्यपत्र प्रस्तुति गरिएको थियो ।

क) बुर्तिबाङ्ग कार्यक्रमः बागलुङ्ग जिल्लाको व्यापारी केन्द्रको रुपमा रहेको बुर्तिबाङ्गमा बोर्ड तथा जिल्ला उद्योग वाणिज्य संघ इकाई बुर्तिबाङ्गको संयुक्त आयोजनामा संचालित सचेतना कार्यक्रममा करिब १०० जनाको सहभागितामा रहेको थियो । जिल्ला उद्योग वाणिज्य संघ इकाई बुर्तिबाङ्गका उपाध्यक्ष श्री निमलाल पाण्डेको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बुर्तिबाङ्ग नगरपालीकाका मेयर देव कुमार नेपालीले बोर्डले पूँजी बजार विकास विस्तारमा देखाएको अग्रसरताका कारण यस क्षेत्रमा समेत प्राथमिक बजारको पहुँच पुगेको बताउदै दोस्रो बजार कारोवारको लागी समेत विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका बोर्ड अध्यक्ष डा. रेवत बहादुर कार्कीले पूँजी बजारको महत्वलाई प्रकाश पार्दै यसको विकासले देश विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । साथै, उहाँले राजनीतिक स्थिरता भएसँगै अबको प्राथमिकता आर्थिक विकास भएकोले सोको लागि आवश्यक पूँजी प्रवाह गर्ने माध्यमको रुपमा पूँजी बजारको विशेष भूमिका रहने बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले प्राथमिक तथा दोस्रो बजारमा लगानी गर्ने तरिका, बजारमाा निहित जोखिमहरु तथा बजारबाट हुन सक्ने फाइदाको बारेमा जिज्ञासा राख्नु भएको थियो । त्यसै गरी सहभागीहरुले कागजी रुपमा रहेको शेयर प्रमाणपत्रलाई डिम्याट गर्ने तरिका, बोनस तथा नगद लाभांस प्राप्त गर्ने तरिका तथा यस क्षेत्रका कम्पनीहरुले सार्वजनिक निष्काशन के कसरी गर्ने सम्बन्धमा समेत राखिएको जिज्ञासाहरुको संवोधन बोर्ड अध्यक्ष तथा कार्यपत्र प्रस्तोताले गर्नुभयो ।

ख) बागलुङ्ग बजार कार्यक्रमः बागलुङ्ग जिल्लाको सदरमुकाम बागलुङ्ग बजारमा बोर्ड तथा नेपाल राष्ट्रिय बाणिज्य संघको संयुक्त आयोजनामा संचालित कार्यक्रममा करिब १५२ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रमका सभापति तथा नेपाल राष्ट्रिय बाणिज्य संघका अध्यक्ष श्री भवनराज बरालले प्राथमिक र दोस्रो बजार सुविधा यस क्षेत्रमा पुगेकोले यसबाट लगानीकर्ताहरु लाभान्वित भएको बताउँदै पूँजी बजार विकासको लागि पछिल्लो समयमा धितोपत्र बोर्डले खेलेको भूमिकाको प्रसंसा गर्नुभयो । प्रमुख अतिथि बागलुङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीले आर्थिक सम्बृद्धिको लक्ष्य पूरा गर्ने महत्वपूर्ण माध्यमको रुपमा रहेको पूँजी बजारसम्बन्धी सचेतना कार्यक्रम स्थानीय तहसम्म आउनु स्वागतयोग्य रहेको बताउनु भयो । कार्यक्रममा बोर्ड अध्यक्ष डा. रेवत बहादुर कार्कीले प्राथमिक बजार देशव्यापी भइसकेको सन्दर्भमा आर्थिक गतिविधि, लगानीकर्ताको संख्या, दोस्रो बजारमा विद्यमान जोखिम लगायतका विषयलाई मध्यनजर गरी देशका विभिन्न स्थानमा दोस्रो बजार पहुँच पुर्याइने बताउदै पूँजी बजार विकास र विस्तार गरी देशभर छरिएर रहेको स–साना पूँजी संकलन गर्दै राष्ट्रिय पूँजी निर्माण गर्न सहज वातावरण बनाउन बोर्ड अग्रसर रहेको बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले सर्किट ब्रेकरसम्बन्धी व्यवस्था, आस्वा तथा सी–आस्वा प्रणाली, पूँजी बजार अर्थतन्त्रको ऐना हुनुको कारण, दोस्रो बजार थपघटका कारण, मर्जर तथा एक्विजिशनका कारण बैंक वित्तीय संस्थाको सेयर कारोवारमा विलम्ब हुँदा पर्ने प्रभाव लगायतका विषयमा जिज्ञासा राख्नुभएको थियो । सहभागीबाट राखिएको जिज्ञासाहरुको संवोधन बोर्ड अध्यक्ष तथा कार्यपत्र प्रस्तोताले गर्नुभयो ।

नेपाल धितोपत्र बोर्ड

मितिः २०७६।२।२३