नेपाल धितोपत्र बोर्ड आ.ब. २०७५।७६ पहिलो त्रैमाससम्मको धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धमा

यस आ.ब.को प्रथम त्रैमाससम्ममा जम्मा २५ वटा संगठित संस्थाहरुले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को अनुमतिका लागि बोर्डमा पेश गरेको निवेदन अनुमतिको प्रकृयामा रहेका थिए । निवेदन दिएका मध्ये ३ वटा जलविद्युत कम्पनीहरु र १ वटा लघुवित्त वित्तीय संस्था गरी जम्मा ४ वटा संगठित संस्थाहरुलाई रु १ अर्ब ८८ करोड रकम बरावरको आईपीओ निष्काशन गर्न अनुमति प्रदान गरिएको छ । आईपीओ अनुमतिको प्रकृयामा रहेका मध्ये १० वटा संगठित संस्थाको निवेदन प्रारम्भिक पूनरावलोकनको प्रकृयामा रहेकोमा २ वटा संस्थालाई आवश्यक थप कागजात पेश गर्न सूचित गरिएको छ भने प्रकृयामा रहेका ४ वटा लघुवित्त वित्तीय संस्थाहरुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को व्यवस्था बमोजिम हुने गरी आईपिओ निष्काशन गर्न सूचित गरिएको छ । त्यस्तै १ वटा संस्थाकोे विवरणपत्र अध्ययन गरी आवश्यक सुधार एवं संशोधनका लागि लेखी पठाइएको छ । यस अवधिमा ७ वटा संगठित संस्थाहरुले बोर्डको राय सुझाव बमोजिम विवरणपत्रमा आवश्यक संशोधन गरी जवाफ पेश गरेकोमा प्राप्त जवाफको पूनरावलोकन गरी ३ वटा संस्थालाई राय सुझाव बमोजिम विवरणपत्रमा सुधार गरी पुनः पेश गर्न सूचित गरिएको छ । प्रकृयामा रहेका मध्ये गर्जाङ उपत्यका हाइड्रो पावर लि., लाफिङ्ग बुद्ध पावर नेपाल लि. र यूनिक हाइडेल कं. लि.लाई आवश्यक कागजात तथा प्रकृया पूरा गर्न सूचित गरिएकोमा लामो अवधि व्यतित हुँदा पनि कुनै प्रतिकृया प्राप्त भएको छैन । यस आ.व.को पहिलो त्रैमासमा मात्र ११ वटा संगठित संस्थाले आईपिओको अनुमतिका लागि बोर्डमा निवेदन पेश गरेका छन् । गत आ.व.को सोही अवधिमा जम्मा १९ वटा संगठित संस्थाहरुको निवेदन आईपिओ अनुमतिको प्रकृयामा रहेका थिए । गत आ.ब. को सोही अवधिमा जम्मा १ वटा कम्पनीलाई रु.१ करोड ८० लाख बराबरको आईपीओ निष्काशन अनुमति प्रदान गरिएको तुलनामा चालु आ.ब.को पहिलो त्रैमासमा आईपीओ अनुमतिको संख्या र रकम दुवैमा उल्लेख्य बृद्धि भएको छ । यस अवधिमा २ वटा संगठित संस्थाले हकप्रद शेयर निष्काशन गर्न निवेदन पेश गरेको समेत गरी जम्मा ११ वटा संगठित संस्थाहरुको निवेदन प्रकृयामा रहेका थिए । गत आ.व. को सोही अवधिसम्ममा जम्मा ३१ वटा संगठित संस्थाहरुको हकप्रद शेयर निष्काशन अनुमति सम्बन्धी निवेदन प्रकृयामा रहेका थिए । यस आ.व. को पहिलो त्रैमासमा हकप्रद निष्काशनको संख्या तथा रकममा कमी आएको छ । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी पु¥याइसकेको देखिएकोले हकप्रद शेयर निष्काशनमा कमी आएको छ । प्रकृयामा रहेका मध्ये यस अवधिमा ३ वटा लघुवित्त वित्तीय संस्थाहरुलाई रु १६ करोड ९० लाख रकम बरावरको हकप्रद शेयर निष्काशन गर्न अनुमति प्रदान गरिएको छ । पेश गरिएका निवेदन मध्ये ६ वटा संस्थाको “हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु” अध्ययन गरी आवश्यक सुधार गर्न राय सुझाव पठाइएको छ भने १ वटा संस्थाको “हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु” पूनरावलोकनको प्रकृयामा रहेको छ । प्रकृयामा रहेको मध्ये अपि पावर कम्पनी लि.ले पेश गर्नुपर्ने अद्यावधिक विवरणहरु हाल सम्म प्राप्त भएको छैन । गत आ.ब. को सोही अवधिमा जम्मा १४ वटा कम्पनीलाई रु.५ अर्ब ९८ करोड बराबरको हकप्रद निष्काशन अनुमति प्रदान गरिएको थियो । यस अवधिमा बोर्डले २ वटा संगठित संस्थालाई रु.३ अर्ब ८३ करोड रकम बराबरको ऋणपत्र सार्वजनिक निष्काशन गर्न समेत अनुमति प्रदान गरेको छ । गत आ.ब. को सोही अवधिमा ऋणपत्र निष्काशनको लागि कुनै पनि संगठित संस्थाले निवेदन पेश गरेका थिएनन् । त्यसैगरी बोर्डले १७ वटा संगठित संस्थाहरुकोे रु ५ अर्व ७६ करोड रकम बरावरको बोनस शेयर दर्ता गरिएको छ जुन अघिल्लो आ.व. को सोही अवधिको तुलनामा संख्यात्मक हिसाबले ८८.८९ प्रतिशत तथा रकमको हिसाबले ५४३.५४ प्रतिशतले बढि हो । सार्वजनिक निष्काशन अनुमति दिने प्रकृयालाई छिटो छरितो (फास्ट ट्रयाक) रुपमा सम्पन्न गर्न बोर्डले सार्वजनिक रुपमा प्रतिवद्धता गरे अनुसार धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ तथा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्दे्शिका २०७४ले तोकेका सम्पूर्ण विवरण तथा कागजात प्राप्त भएको मितिले सात कार्य्दिनभित्र निवेदन साथ संलग्न विवरण तथा कागजातमा अवश्यकता अनुसार सुझाव दिने र तत्पश्चात सुझाव अनुसार आवश्यक सुधार गरी विवरण तथा कागजात प्राप्त भएको पाँच कार्य्दिनभित्र निष्काशन अनुमति प्रदान गर्न बोर्ड कटिवद्ध रहेको छ । मितिः २०७५।०७।१९

Download Files: Nepali English