SEBON Chat(Beta Version)

ग्लोबल मनि विक २०२६ को अवसर तथा हालै सम्पन्न अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा नेपाल धितोपत्र बोर्ड तथा प्रविधिमा महिला (Women in IT) को सहकार्यमा मिति २०८२ चैत्र २ गते राजधानीमा पुँजी बजार साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । प्रविधिमा महिला संस्थाकी निमित्त अध्यक्ष शिला कंसाकार कार्कीको सभापतित्व तथा बोर्डका नीति, अनुसन्धान तथा प्रशिक्षण विभागका विभागीय प्रमुख डा. नवराज अधिकारीको प्रमुख आतिथ्य एवम् सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडकी कार्यकारी प्रमुख श्री प्रविण पन्दाकको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका बारेमा बोर्डकी उपकार्यकारी निर्देशक श्री दिपा दाहालले प्रकाश पार्नु भएको थियो । त्यसैगरी विशेष अतिथि श्री प्रविण पन्दाकले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रमुख अतिथि डा. नवराज अधिकारीले ग्लोबल मनि विक २०२६ को पृष्ठभूमी एवम् पुँजी बजार सचेतना अभिवृद्धि कार्यक्रमको महत्वबारे धारणा राख्नु भएको थियो ।
कार्यक्रममा बोर्डको तर्फबाट निर्देशक श्री सनु खड्काले Fundamentals of Investment Opportunities and Capital Market विषयक प्रस्तुती राख्नु भएको थियो । त्यसैगरी सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेडको तर्फबाट वरिष्ठ आ.ई.टी अधिकृत श्री रन्जु कुमारी सिंह ले Process of Clearing and Settlement of Securities विषयमा प्रस्तुती दिनुभएको थियो । तत्पश्चात् प्रस्तुतकर्ताहरूले सहभागीहरूका जिज्ञासा समाधान गर्नुभएको थियो ।
अन्त्यमा, कार्यक्रमकी सभापति प्रविधिमा महिला संस्थाकी निमित्त अध्यक्ष श्री शिला कसांकार कार्कीले समापन मन्तव्य सहित कार्यक्रमको अन्त्य गर्नुभएको थियो । कुल ९३ जना सहभागी उपस्थित रहनु भएको उक्त कार्यक्रमको संचालन बोर्डकी सहायक निर्देशक श्री पुजा खनालले गर्नुभएको थियो ।