गण्डकी प्रदेशको राजधानी पोखरामा पत्रकार तथा उद्योग व्यवसायीलाई आर्थिक तथा धितोपत्र बजार सम्वन्धी लगानीकर्ता जनचेतना अभिवृद्धि तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न ।

बोर्डबाट स्वीकृत वार्षिक कार्यक्रम अनुसार लगानीकर्ता प्रशिक्षण तथा जनचेतना अभिबृद्धि कार्यक्रम देशका विभिन्न स्थानहरुमा संचालन गरिरहेकोमा हालै गण्डकी प्रदेशको राजधानी पोखरामा उक्त क्षेत्रका पत्रकारहरु तथा लगानीकर्ताहरुको लागि दुई वटा आर्थिक तथा धितोपत्र बजार सम्वन्धी सचेतना तथा अन्तरक्रियात्मक कार्यक्रम सो क्षेत्रका पत्रकार, स्थानीय उद्योगी व्यापारी तथा व्यवसायी, विद्यार्थी, लगानीकर्ता तथा सर्वसाधारणको सहभागितामा सम्पन्न गरिएको छ । उक्त कार्यक्रमहरुमा देशको अर्थतन्त्र, वित्तीय तथा पूँजी बजारको महत्व र संयन्त्र, धितोपत्रको प्राथमिक तथा दोस्रो बजार, धितोपत्र व्यवसाय, लगानीकर्ता हक हित संरक्षणसम्बन्धी व्यवस्था जस्ता विषयहरु समेटिएका कार्यपत्र प्रस्तुति गरिएको थियो ।

क) पत्रकारहरुको लागि पहिलोपटक आर्थिक तथा धितोपत्र बजारसम्बन्धी कार्यक्रम सम्पन्न ।

बोर्डको आ.व. २०७६।७७ को वार्षिक कार्यक्रममा प्रदेशहरुमा पत्रकारहरुलाई आर्थिक तथा धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गर्ने कार्यक्रम रहे अनुसार बोर्डबाट गण्डकी प्रदेशको राजधानी पोखरामा नेपाल पत्रकार महासंघ कास्की शाखासँगको सहकार्यमा पहिलो पटक आर्थिक तथा धितोपत्र बजारसम्बन्धी तालिम/प्रशिक्षण तथा अन्तरक्रियात्मक कार्यक्रम हालै सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा गण्डकी प्रदेशमा पत्रकारिता गरिरहनुभएका करिब ७० जना पत्रकारहरुको उपस्थिति रहेको थियो । 

नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष श्री दीपेन्द्र बहादुर श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री तथा माननीय आर्थिक मामिला तथा योजना मन्त्री श्री किरण गुरुङ्गज्यूले आर्थिक विषयमा यस प्रदेशका पत्रकारज्यूहरुलाई महत्व दिई प्रदेशमा यस्तो पहिलो कार्यक्रम संचालन गर्नुभएकोमा आयोजकलाई विशेष धन्यवाद दिनुभयो । साथै यस क्षेत्रको विकासका लागि आवश्यक हुने पूँजी यस बजार मार्फत परिचालन गर्नका लागि प्रदेश सरकारले आवश्यक कार्य गर्ने समेत बताउनुभयो । साथै आर्थिक संवृद्धिका लागि यस क्षेत्रमा आर्थिक गतिविधिलाई प्राथमिकता दिई अगाडि बढाईरहेको सन्र्दभमा धितोपत्र बजारबाट सर्वसाधारण लाभान्वित हुने वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो । 

कार्यक्रमका विशेष अतिथि बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले नेपालको अर्थतन्त्रको संक्षिप्त परिचय र यसको धितोपत्र बजारसँग सम्बन्धका विषयमा र यी पक्षहरुलाई बुझने तथा विश्लेषण गर्ने तरीका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । साथै कार्यक्रममा मन्तव्य राख्दै बोर्ड अध्यक्ष डा. कार्कीले बोर्डले उपत्यकाबाहिरका लगानीकर्तासहित पत्रकारहरुलाई यस बजारको महत्व सम्बन्धमा बुझाउन लागि परेको बताउँदै पत्रकारहरुले आर्थिक समाचार संप्रेषण गर्दा विशेष  ध्यान दिनुपर्ने विषयमा जोड दिनुभयो ।

त्यसैगरी बोर्डका कार्यकारी निर्देशक श्री परीष्टनाथ पौड्यालले धितोपत्र बजारको वर्तमान अवस्था, प्राथमिक बजार, दोस्रो बजार, धितोपत्र व्यवसायी जस्ता विषयका परिचयात्मक तथा आधारभूत पक्षसहित धितोपत्र बजार सम्बन्धी लेखनका क्रममा तथ्यमा आधारित, पूर्ण, आधिकारिक, सरल, समसामयिक, सन्तुलित रुपमा लेखन गनुपर्ने सम्बन्धी कार्यपत्र प्रस्तुति गर्नुभएको थियो । त्यसतै नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका प्रमुख डा. डिल्लीराम पोखरेलले धितोपत्र बजार, केन्द्रीय बैंक र मौद्रिक नीति सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विज्ञ आर्थिक पत्रकार श्री मदन लम्सालले आर्थिक पत्रकारिताका मूल मन्त्रहरु तथा यसका सिद्धान्त जस्ता विषयहरु समेटिएको वित्तीय बजार र आर्थिक पत्रकारिता विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

सो पश्चातको अन्तरक्रियामा सहभागी पत्रकार तर्फबाट मौद्रिक नीति, व्याजदर र शेयर बजार बीच कसरी सम्बन्ध रहन्छ, नेप्सेको कारोबार प्रणालीमा बारम्बार समस्या आउनाले लगानीकर्ताले धेरै समस्या भोग्नु परेको, उपत्याबाहिर डिम्याटमा समस्या रहेको, जलविद्युत कम्पनीको नियमन सम्बन्धी कानूनी व्यवस्था सक्षम नभएको र मोफसलमा धितोपत्र बजार विस्तारको पर्याप्त विस्तार नभएको इत्यादि जिज्ञासा राख्नुभएको थियो । कार्यक्रममा उठेका प्रश्नहरुको प्रत्युत्तर बोर्डका अधिकारी तथा सम्बन्धित कार्यपत्र प्रस्तोताहरुले दिनुभएको थियो । 

कार्यक्रमका सभापति तथा नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष श्रेष्ठले बोर्डले यस क्षेत्रमा पत्रकारिता गरिरहनुभएका पत्रकारहरुलाई यस क्षेत्रका विज्ञहरुलाई बोलाई अर्थतन्त्र तथा, पूँजी बजार, धितोपत्र बजार र आर्थिक पत्रकारिता सम्बन्धकि तालिम प्रदान गर्ने अवसर प्रदान गरेकोमा विशेष धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमलाई सहकार्यमा निरन्तरता दिन आफूहरु उत्साहित रहेको बताउनुभयो । नेपाल धितोपत्र बोर्डका निर्देशक श्री नारायण प्रसाद शर्माले कार्यक्रममा सहभागीलाई स्वागत गर्दै कार्यक्रमबारेमा प्रकाश पार्नु भएको उक्त कार्यक्रम नेपाल पत्रकार महासंघ कास्की शाखाका महासचिव राम प्रसाद तिमिल्सिनाले संचालन गर्नुभएको थियो । 

ख) गण्डकी प्रदेशको राजधानीमा पूँजी बजार सम्वन्धी लगानीकर्ता जनचेतना अभिवृद्धि तथा अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न ।

बोर्ड तथा पोखरा उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा हालै गण्डकी प्रदेशको राजधानी पोखरामा धितोपत्र बजार सम्बन्धी लगानीकर्ता सचेतना तथा अन्तरक्रिया कार्यक्रम स्थानीय उद्योगी, व्यापारी, विद्यार्थीहरु, लगानीकर्ता, सरकारी निकायका पदाधिकारी, व्यवसायी, पत्रकार तथा सर्वसाधारण गरी करिब १०० जनाको सहभागितामा सम्पन्न भएको छ । 

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष श्री दामु अधिकारीज्यूको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति, कास्की प्रमुख श्री बैन बहादुर क्षत्री (अधिकारी) ले पूँजी बजार सम्बन्धी जानकारी दिने हेतुले आयोजित यस कार्यक्रमको उद्देश्य राम्रो रहेको भन्दै सुखी नेपाली सम्वृद्ध नेपाल भन्ने नेपाल सरकारको लक्ष्यलाई हासिल गर्न पूँजी बजारको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । साथै उहाँले समृद्धिको बाटोमा देशलाई लान ठुलो मात्राको पूँजी आवश्यक हुने भएकोले सो पूँजी आवश्यकता पूँजी बजारमार्फत परिचालन हुने वातावरण बनाउने तर्फ सबै पक्ष लाग्नुपर्ने समेत बताउनु भयो । 

कार्यक्रममा बोर्डका अध्यक्ष डा. कार्कीले आर्थिक विकासका लागि आवश्यक हुने  पूँजी बजारको महत्वपूर्ण भूमिका रहने हुँदा लगानीकर्ता सचेतना कार्यक्रममार्फत दुर्गम भनिएका जिल्लाहरुमा समेत यस्तो सचेतना कार्यक्रम संचालन गरिएको बताउनुभयो । त्यसैगरी आफ्नो क्षेत्रको विकासका लागि चाहिने पूँजी परिचालन गर्न स्थानीयस्तरको ऋणपत्र निकाल्न सकिने व्यवस्था गर्न लागिएकोे समेत भनाई राख्नुभयो ।

बोर्डका कार्यकारी निर्देशक श्री परीष्टनाथ पौड्यालले स्वागत मन्तव्यका साथमा कार्यक्रम आयोजनाको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो । त्यसैगरी बोर्डका निर्देशक श्री नारायण प्रसाद शर्माले समग्र वित्तीय प्रणाली, धितोपत्र बजार, प्राथमिक तथा दोस्रो बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने विषयहरु समेटिएको धितोपत्र बजार (शेयर बजार) को परिचयात्मक तथा आधारभूत पक्षहरु सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा सभापति तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष श्री अधिकारीले पूँजी बजारलाई गाँउ गाँउमा लैजानुपर्ने अवस्था आएकोमा यस्ता कार्यक्रमले सोका लागि भूमिका खेल्ने बताउनु भयो । 

कार्यक्रमको अन्तरक्रियामा सहभागी लगानीकर्ताहरुले पूँजीगत लाभकर गणना म्यानुयल रुपमा गर्दा यसले बजार ढुंगे युगमा जान लागेको, मर्चेन्ट बैंकरको शाखामा काठमाडौं केन्द्रीत हुँदा समस्या भएको, गैर आवासीय नेपालीलाई धितोपत्र बजारमा भित्रयाउने सम्बन्धमा के भैरहेको छ, नेप्सेको कारोबार प्रणालीमा बारम्बार समस्या आईरहेकोमा सो समाधान कसरी हुन्छ, बैंकलाई धितोपत्र दलालको रुपमा कार्य गर्न अनुमति दिन ढिलाई गर्न नहुने जस्ता गुनासा तथा सुझावहरु राख्नु भएको थियो । कार्यक्रममा उठेका जिज्ञासाहरुको सम्बोधन बोर्डका अधिकारीहरुले गर्नुभएको थियो । पोखरा उद्योग वाणिज्य संघका महासचिव श्री अर्जुन पोखरेलले सो कार्यक्रम संचालन गर्नुभएको थियो ।

 भदौ १९, २०७६