कर्णाली प्रदेशका पत्रकारहरुको लागि आर्थिक तथा धितोपत्र बजार सम्बन्धी प्रशिक्षण ।

बोर्डको आ.व. २०७५।७६ को वार्षिक नीति तथा कार्यक्रममानुसार बोर्डबाट प्रदेश न. २ को राजधानी जनकपुर पश्चात दोस्रो कार्यक्रमको रुपमा यही जेठ १० गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा यस प्रदेशका पत्रकारहरुका लागि आर्थिक तथा धितोपत्र बजारसम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कर्णाली प्रदेशमा पत्रकारिता गरिरहनुभएका करिब ८५ जना पत्रकारहरुको उपस्थिति रहेकोे थियो ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेशका माननीय आर्थिक मामिला तथा योजना मन्त्री श्री प्रकाश ज्वालाले बोर्डले प्रदेशमा यस्तो महत्वपूर्ण कार्यक्रम पहिलो पटक संचालन गरेको साथै धितोपत्रको दोस्रो बजार कारोबार समेत शुरुवात गराउने व्यवस्था गराएकोमा बोर्डलाई धन्यबाद दिनु भयो । साथै पछिल्लो समयमा धितोपत्र बजारको विकासमा बोर्डले खेलेको भूमिकाको प्रसंशा गर्दे आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको पूँजी बजारमार्फत यस क्षेत्रको आर्थिक संवृद्धिका लागि प्रदेश सरकारले समेत विशेष पहल गरिरहेको धारणा राख्नुभयो ।

कार्यक्रममा विशेष अतिथि नेपाल स्टक एक्सचेनज लि. का महाप्रवन्धक श्री चन्द्र सिंह साउदले यो कार्यक्रम महत्वपूर्ण रहेको र पूँजी बजार साक्षरताको लागि नेप्सेले समेत यस्ता कार्यक्रमहरु संचालन गर्ने बताउनु भयो । त्यसै गरी अतिथिको रुपमा बोल्दै पत्रकार महासंघ कर्णाली प्रदेशकका सचिव श्री पवित्र कुमार शाहीले बोर्डले कर्णाली प्रदेशका पत्रकारहरुलाई लक्षित गरी आर्थिक तथा धितोपत्र बजार सम्बन्धी प्रशिक्षण कार्यक्रम शुरुवात गरेकोमा विशेष धन्यवाद दिदैं यस कार्यक्रमबाट आफूहरु निकै नै लाभान्ति भएको बताउनु भयो ।

सो कार्यक्रमका चार वटा कार्यपत्रहरु प्रस्तुत गरिएका थिए । नेपालको अर्थतन्त्रको परिचयात्मक पक्षको साथै अर्थतन्त्र र धितोपत्र बजार बीचको सम्बन्धमा विषयमा बोर्ड अध्यक्ष डा. कार्कीले, बरिष्ठ आर्थिक पत्रकार श्री लोक बहादुर चापागाईले पत्रकार र सञ्चार माध्यमको कर्तव्य र गर्न नहुने काम जस्ता विषयहरु समेटिएको प्रदेशमा धितोपत्र बजार र समाचार संप्रेषण तथा लेखन विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । त्यसै गरी बोर्डका निर्देशक श्री अम्बिका प्रसाद गिरीले धितोपत्र बजार, प्राथमिक बजार, दोस्रो बजार, धितोपत्र व्यवसायी जस्ता विषयका परिचयात्मक तथा आधारभूत पक्षसहित धितोपत्र बजार लेखन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने नेप्सेका वरिष्ठ आईटि अधिकृत प्रभावकर घिमिरेले कारोवार संचालन र अनलाईन कारोवार प्रणालीको सम्बन्धमा कार्यपत्र प्रस्तुति रहेको थियो ।

सो पश्चातको अन्तरक्रियामा सहभागी पत्रकारहरुले आर्थिक तथा पूँजी बजारको लागि आवश्यक पूर्वाधार के के हुन् र कर्णाली प्रदेशमा उक्त पूर्वाधार ल्याउन धितोपत्र बोर्डले अझै खेल्नुपर्ने भूमिका बारेमा जिज्ञासा राख्दै सूचीकृत कम्पनीले सूचना प्रवाह समयमा गर्ने नगरेको, निजी कम्पनीहरुलाई शेयर निष्काशन सम्बन्धी व्यवस्था, जलविधुत कम्पनीको नियमन सम्बन्धी कानूनी व्यवस्था गरिनुपर्ने र स्थानीय स्तरमा धितोपत्र बजार विस्तार सम्बन्धमा समेत आफ्नो जिज्ञासा राख्नुभएको थियो । कार्यक्रममा उठेका प्रश्नहरुको प्रत्युत्तर बा सम्बन्धित कार्यपत्र प्रस्तोता तथा बोर्डका अध्यक्षले दिनुभएको थियो ।

कार्यक्रममा बोर्ड अध्यक्ष डा. कार्कीले बोर्डले यसअघि सर्वसाधारण लगानीकर्ता तथा स्थानीयहरुलाई मात्र सचेतना कार्यक्रम गदैं आएकोमा यस आ.व. देखि प्रदेशका पत्रकारहरुलाई समेत प्रदेशगत तालिम प्रशिक्षण कार्यक्रम शुरुवात गरेको जानकारी गराउदै विस्तारै यस्ता कार्यक्रमहरु सवै प्रदेशमा गर्दै जाने बताउनु भई कतिपय लगानीकर्ताहरुले लगानीको निर्णय लिदा पत्रपत्रिकालाई समेत माध्यम बनाउने हुनाले पत्रकारहरुले आर्थिक समाचार संप्रेषण गर्दा विशेष ध्यान दिनुपनुपर्नेमा जोड दिनु भयो । बोर्डका का.मु. सहायक निर्देशक श्री राजु बहादुर जि.सि. ले उक्त कार्यक्रम संचालन गर्नुभएको थियो ।

नेपाल धितोपत्र बोर्ड

मिति २०७६।०२।११