संस्थागत लगानीकर्ताको भूमिका सशक्तिकरण गर्ने क्रममा छलफल सम्पन्न ।

२०८३ साउन १,

विश्वका विकसित पूँजी बजारहरूमा संस्थागत लगानीकर्ताको उच्च सहभागिता रही यिनीहरूले बजारमा स्थायित्व, तरलता तथा विवेकपूर्ण लगानी संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ। नेपालको पूँजी बजारमा व्यक्तिगत (Retail) लगानीकर्ताको सहभागिता उल्लेखनीय रूपमा बढे पनि संस्थागत लगानीकर्ताको भूमिका अपेक्षाकृत सीमित रहेको अवस्था छ। दीर्घकालीन वित्तीय स्रोत परिचालन, बजारको स्थायित्व, मूल्य अन्वेषण (Price Discovery), तरलता तथा सुशासन अभिवृद्धि गर्न संस्थागत लगानीकर्ताको सक्रिय, विविधीकृत (Diversified) तथा जिम्मेवार सहभागिता विस्तार गर्दै पूँजी बजारलाई सन्तुलित र दिगो वित्तीय प्रणालीका रूपमा विकास गर्न बोर्डबाट आर्थिक वर्ष २०८३/८४ मा संस्थागत लगानीकर्ताको सहभागिता विस्तारलाई विशेष प्राथमिकता दिने नीति तथा कार्यक्रम तय गरिएको छ ।

बोर्डबाट संस्थागत लगानीकर्ताको भूमिका थप सकृय बनाउने हेतुले आज बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टज्यूको समुपस्थितिमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा बीमा कम्पनीको लगानीको स्वीकृति दिने निकाय नेपाल बीमा प्राधिकरणका उच्च पदस्थ पदाधकारीसँग छलफल सम्पन्न भएको छ । छलफलमा उक्त निकायका प्रतिनिधिहरूले लगानीको अवस्था, सुधार तथा सहजीकरण हुनुपर्ने विषय स्पष्टसँग राख्नुभएको थियो । छलफलमा बोर्डका अध्यक्षज्यूले अबका दिनमा यी संस्थाहरूले Traditional Investment Approach बाट Smart Investment Approach मा बदली बजारको स्थायित्वमा भूमिकाको अपेक्षा सहित आगामी दिनमा यी संस्थाहरूबाट पूँजी बजारमा लगानीका लागि बोर्डबाट आवश्यक नीतिगत तथा नियामकीय सहजीकरण लागि बोर्ड तत्पार रहेको जानकारी गराउनुभएको छ ।