बोर्डको ३२ औं वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रम सम्पन्न ।

नेपाल धितोपत्र बोर्डले आफ्नो स्थापनाको ३१ वर्ष पूरा गरी ३२ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विशेष समारोहबीच बोर्डको ३२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । बोर्ड अध्यक्ष तथा नेपाल सरकारका सहसचिव श्री नरेन्द्र कुमार रानाज्यूको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल सरकारका राजस्व सचिव डा. राम प्रसाद घिमिरेज्यू रहनुभएको थियो । त्यसैगरी कार्यक्रमको विशेष अतिथिमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष श्री सुर्य प्रसाद सिलवालज्यू रहनुभएको थियो । उक्त कार्यक्रममा बोर्डका सञ्चालक समितिका सदस्यहरु, बोर्डका कार्यकारी निर्देशकज्यूहरु, नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत, सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लगायत बोर्डका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । साथै धितोपत्र बजार सहभागीहरु, लगानीकर्ताहरु, आर्थिक पत्रकारहरु लगायत अन्य सरोकारवाला पक्षहरुको समेत उक्त कार्यक्रम सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीज्यूले नेपाल धितोपत्र बोर्डको विगत एक बर्षको कार्यसम्पादन तथा नेपालको पुँजी बजारलाई स्वच्छ, प्रतिस्पर्धी र पारदर्शी बनाई लगानीकर्ताको हकहीत सुनिश्चित गर्न बोर्ड प्रतिबद्ध एवं प्रयासरत रहेको जानकारी गराउँदै देशमा आर्थिक सामाजिक रुपान्तरणगरी उत्पादनशील, रोजगारीमूलक र न्यायपूर्ण वितरणसहितको उच्च फराकिलो, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्दै समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने नेपाल सरकारको प्राथमिकता पुरा गर्न र दिगो आर्थिक वृद्धि तथा सन्तुलित विकासको लागि पुँजी बजारले महत्वपुर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल सरकारले सरोकारवालाको राय तथा सुझाव बमोजिम पुँजी बजारलाई सुधार, विकास र विस्तार तथा लगानीकर्तामैत्री बनाउन आगामी आर्थिक वर्षको बजेटमा महत्वपुर्ण कार्यक्रमहरु समावेश गरेको र नेपाल सरकारको आवश्यक समन्वय र सहजीकरणमा उक्त कार्यक्रम समयमै सम्पन्न गर्न बोर्ड प्रतिबद्ध रहेको जानकारी गराउनुभयो । बोर्डको स्थापनाकालको ३२ वर्ष पुग्दा समेत आफ्नो स्थायी भवन नभएकाले भवन निर्माणका लागी जग्गा प्राप्ति गर्न सहजीकरण गरिदिन नेपाल सरकार समक्ष अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियन र नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनका अध्यक्षद्वय श्री राजु बहादुर जि.सि. र श्री नारायण पौडेलले आफ्नो मन्तव्य राख्दै धितोपत्र बोर्डको संस्थागत विकास तथा कर्मचारीको क्षमता अभिवृद्धिमा जोड दिन सम्बद्ध पक्षसँग आह्वान गर्नुभएको थियो ।
त्यसैगरी कार्यक्रमका विशेष अतिथि नेपाल बीमा प्राधिकरणका अध्यक्ष श्री सुर्य प्रसाद सिलवालज्यूले वित्तीय क्षेत्रका नियमनकारी निकायहरुबीच अझ बढी समन्वय, सहकार्य र सहयात्राको आवश्यकता रहेको तथा नियमन निकायहरुको पूर्वाधार विकासमा नेपाल सरकारले आवश्यक सहजीकरण गरिदिनुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार, अर्थ मन्त्रालयका राजस्व सचिव डा. राम प्रसाद घिमिरेज्यूले बोर्डको ३२ आंै वार्षिकोत्सवको बधाई एवं शुभकामना प्रदान गर्दैे विगत एक बर्षको बोर्डको प्रगति विवरण तथा प्रतिबद्धताका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो । पुँजी बजारमा लगानीकर्ताको सहभागिताको आँकडालाई हेर्दा, नेपालमा पुँजी बजारको उल्लेख्य मात्रामा विकास तथा विस्तार भएको र सँगसँगै यसले अनेकाँै अवसर तथा चुनौती सिर्जना गरेको उल्लेख गर्नुभयो । श्रीमान सचिवज्यूले बजारको आकार धेरै ठूलो भइसकेको अवस्थामा बोर्डले लागु गर्न लागेको जोखिममा आधारित सुपरिवेक्षण फ्रेमवर्कले बोर्डको सुपरिवेक्षकीय क्षमता सशक्त हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले धितोपत्रको प्राथमिक बजारले क्षेत्रगत पुँजी परिचालन तथा दोस्रो बजारले धितोपत्रको कारोबार सहज र सरल बनाएको धारणा व्यक्त गर्नुभयो । उहाँले नेपाल धितोपत्र बोर्डको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन नेपाल सरकार समक्ष पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो । पुँजी बजारलाई आधुनिक एवं विश्वसनीय बनाउन प्रविधिको प्रयोगमा विशेष जोड दिनुपर्ने बताउँदै धितोपत्र बजारको विस्वसनीयता अभिवृद्धि गर्नुको साथै समग्र पुँजी बजारको स्वस्थ विकास एवं उत्पादनशील क्षेत्रमा लगानी प्रवर्धन गर्न बोर्ड अझ बढी क्रियाशील बन्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बोर्डका अध्यक्ष श्री नरेन्द्र कुमार रानाज्यूले मन्तव्य दिँदै समग्र पुँजी बजारको हितको लागि चाँडो भन्दा चाँडो बोर्डको अध्यक्ष चयन हुनुपर्नेमा जोड दिनुभयो । साथै हालसम्म बोर्डको आफ्नो भवन नभएको सन्र्दभमा भवन निर्माणको लागि आवश्यक पहल गरिरहेको र धितोपत्र बोर्ड जुन उद्देश्यका लागि स्थापना भएको छ सो बमोजिम काम गर्नमा प्रतिबद्ध रहेको जानकारी गराउनु भयो । कार्यक्रम समापनका क्रममा अध्यक्षज्यूले प्रमुख अतिथि राजस्व सचिव डा. राम प्रसाद घिमिरेज्यू लगायत सम्पूर्ण सहभागी महानुभावहरुलाई नेपाल धितोपत्र बोर्ड ३२ औं वार्षिकोत्सव कार्यक्रममा सहभागी भई कार्यक्रमको गरिमा र बोर्डको हौसला बढाइदिनु भएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा राजस्व सचिव डा. राम प्रसाद घिमिरेज्यूद्वारा नेपाल धितोपत्र बोर्डको ३२ औं वार्षिकोत्सव लेख विशेषाङ्क २०८१ समेत विमोचन गरिएको थियो। त्यस्तै ३२ आंै वार्षिकोत्सवको अवसरमा पहिलो पटक बोर्डका कर्मचारीहरुबीच आयोजना गरिएको अन्तर विभागीय फुटसल प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्ने विभागलाई पुरष्कृत गरिएको थियो । साथै बोर्डको सेवामा २० वर्ष सेवा अवधि पुरा गर्नुभएका का.मु. सहायक निर्देशक श्री राजु बहादुर जि.सि लाई दीर्घ सेवा पदक एवं कदर पत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन बोर्डका उप कार्यकारी निर्देशक श्री नारायण प्रसाद शर्माले गर्नुभएको थियो ।