बोर्ड अध्यक्षको पदबहाली सम्बन्धमा ।

नेपाल धितोपत्र बोर्डको संचालक सदस्यमा मनोनयन हुनुभएको सहसचिव श्री महेश बरालज्यूले माननीय अर्थ मन्त्री बिष्णु प्रसाद पौडेल समक्ष बोर्डको अध्यक्ष पदको पद तथा गोपनियताको सपथ लिई मिति २०८१/०४/०३ मा बोर्डमा पदबहाली गर्नुभएको छ । नेपाल सरकार अर्थमन्त्रालय (माननीय मन्त्रीस्तर) को मिति २०८१/०४/०२ को निर्णयानुसार सहसचिव श्री बराल बोर्डको संचालक सदस्यमा मनोनयन हुनु भएको हो । धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्था बमोजिम उहाँ अध्यक्ष तोकिनु भएको हो । उहाँ बोर्ड अध्यक्षको साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको रूपमा समेत कार्यरत हुनुहुन्छ ।

बोर्ड अध्यक्ष श्री बराललाई बोर्डका उच्च पदस्थ कर्मचारी सहित सम्पूर्ण कर्मचारीहरूले स्वागत गरी उहाँको सफल तथा सुखद कार्यकालको शुभकामना प्रदान गर्नुभयो । बोर्ड अध्यक्ष बरालले स्वागत कार्यक्रममा सूचीकृत संगठित संस्था तथा बजार सहभागीहरूको संस्थागत सुशासन, बोर्ड तथा बोर्डमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि, बजारको विकास, विस्तार र स्थायित्वमा जोड दिँदै सम्पूर्ण कर्मचारीहरूलाई तोकिए बमोजिमको जिम्मेवारी निर्भिकतापूर्वक सम्पादन गर्न निर्देशन समेत दिनुभयो ।