नवनियुक्त बोर्ड अध्यक्ष श्री रमेश कुमार हमालज्यूको पदबहाली ।

नेपाल सरकार, मन्त्रीपरिषदको मिति २०७८।११।०५ बिहीबारको निर्णयानुसार बोर्ड अध्यक्षमा नियुक्त हुनुभएको श्री रमेश कुमार हमालज्यूले मिति २०७८।११।०६, शुक्रबारका दिनमा माननीय अर्थमन्त्री जनार्दन शर्मा "प्रभाकार" ज्यूबाट पद तथा गोपनीयताको सपथ लिई मिति २०७८।११।०८ आइतबारका दिन बोर्डमा पदबहाली गर्नुभयो।

नवनियुक्त बोर्ड अध्यक्ष श्री रमेश कुमार हमाललाई बोर्डका उच्च पदस्थ कर्मचारी सहित सम्पूर्ण कर्मचारीहरुले स्वागत गर्नुभयो।पदवहालीसँगै अध्यक्ष श्री हमालले बोर्डको संस्थागत क्षमता अभिवृद्धि आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभयो। यसका लागि उहाँले कर्मचारीको मनोबल उच्च राख्ने र बोर्ड भवनको उचित व्यवस्थापनका साथै सूचना प्रविधिको विकासका लागि ठोस कार्य गर्ने योजना रहेको बताउनुभयो। यो साझा लक्ष्य हासिल गर्न सम्पूर्ण कर्मचारीहरू बिना पूर्वाग्राह एक ढिक्का भै लाग्नुपर्ने आवश्यकता रहेको समेत औल्याउनुभयो। मन्तव्यको क्रममा उहाँले आजको समयमा धितोपत्र बजार नेपाली समाजको एक महत्वपूर्ण हिस्सा भएको बताउँदै बजारको विकास, विस्तार र स्थायित्य कायम गर्ने ठूलो जिम्मेवारी बोर्डको काँधमा भएको बताउनुभयो। अध्यक्ष श्री हमालले हाल बजारमा संस्थागत तथा उपकरणगत विविधता नभएका कारण सानो धक्काले पनि बजारलाई अस्थिर र उत्तारचढावपूर्ण बनाउने गरेको खुलासा गर्नुभयो।यसका लागि बजारलाई रिजिलियण्ट बनाउन आफू लागि पर्ने बताउँदै यस कार्यमा सबैको साथ, सहयोग र समन्वय रहने विश्वास समेत व्यक्त गर्नुभयो।धितोपत्र बजार सर्वसाधारणको जिवनसँग जोडिएको हुनाले साना लगानीकर्ताको सुरक्षालाई विशेष प्राथमिकता दिने बताउनुभयो।