Pilot Certification Programme सम्पन्न।

धितोपत्र बजार तथा नियमन दायरा विस्तारसँगै धितोपत्र व्यवसायीहरुलाई थप व्यवसायिक एवं दक्ष बनाई गुणस्तरीय र प्रभावकारी सेवाको सुनिश्चितता गर्नुपर्ने अवस्था रहेको छ । बोर्डको आर्थिक वर्ष २०८०।८१ को स्वीकृत नीति तथा कार्यक्रम र संचालक बोर्ड बैठकको मिति २०८०।०६।०२ को निर्णय बमोजिम Pilot Certification Programme अन्तर्गत मिति २०८१।०३।२१ र २२ मा बोर्डबाट अनुमतिपत्र प्राप्त गरेका नयाँ धितोपत्र दलाल व्यवसायी/धितोपत्र व्यापारी सस्ंथाका कार्यकारी प्रमुखहरुका लागि सम्बन्धित विषयमा प्रशिक्षण र परीक्षा संचालन गरिएको । उक्त कार्यक्रममा कुल ३९ धितोपत्र दलाल व्यवसायी र दुई धितोपत्र व्यापारीहरुका कार्यकारी प्रमुख एवं उच्च पदाधिकारीको सहभागिता रहेको ।


धितोपत्र व्यवसायीहरुको व्यवसायीकता विकास सम्बन्धी अन्तर्राष्ट्रिय सिद्धान्त र असल अभ्यास सम्बन्धमा National Institute of Securities Markets (NISM) का विज्ञहरुसँगको छलफल पश्चात उक्त प्रमाणीकरण कार्यक्रम संचालन गरिएको । धितोपत्र दलाल व्यवसायी/धितोपत्र व्यापारी संस्थाहरुमा कार्यरत जनशक्तिलाई थप दक्ष एवं व्यवसायिक बनाउने उद्देश्यका साथ उक्त Pilot Certification Programme संचालन गरिएको र प्रमाणीकरण सम्बन्धमा थप कानुनी तथा संस्थागत व्यवस्था भएपश्चात अन्य धितोपत्र व्यवसायीहरुका लागि समेत क्रमशः प्रमाणीकरण कार्यक्रम संचालन गर्ने बोर्डको योजना रहेको छ । Pilot Certification Programme मा सहभागी भई सफल भएका व्यवसायीहरुलाई मिति २०८१।०३।३० मा विशेष कार्यक्रम आयोजना गरी प्रमाणपत्र वितरण गरिएको छ । प्रमाणपत्र वितरण कार्यक्रमका प्रमुख अतिथी तथा बोर्डका अध्यक्ष श्री नरेन्द्र कुमार रानाले बोर्डले नेपालकोे पुँजी बजारको इतिहासमा धितोपत्र व्यवसायीहरुको योग्यता एवं दक्षता अभिवृद्धि गर्ने उद्देश्यले प्रथम पटक संचालन गरेको प्रमाणीकरण कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिन सकेमा यसबाट धितोपत्र बजारमा व्यवसायिकता अभिवृद्धि भई धितोपत्र बजारलाई थप निष्पक्ष, पारदर्शी र प्रभावकारी बन्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।