पूँजी बजार नियमन तथा विकासमा हालसालका सुधार र आर्थिक पत्रकारितासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

यस बोर्ड र नेपाल आर्थिक पत्रकार समाज–सेजनको संयुक्त आयोजनामा मिति २०७५ असार २९ मा पूँजी बजार नियमन तथा विकासमा हालसालका सुधार र आर्थिक पत्रकारितासम्बन्धी आर्थिक पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बोर्ड अध्यक्ष डा.रेवत बहादुर कार्कीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा सेजनका अध्यक्ष श्री पुष्पराज आचार्य र सेजनका पदाधिकारी लगायत विभिन्न प्रिन्ट तथा अनलाइन मिडियाका अधिकांश आर्थिक पत्रकारहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको प्राविधिक सत्रमा धितोपत्र तथा वस्तु विनिमय बजारका विविध पक्षहरुका साथै आर्थिक पत्रकारिता सम्बन्धी पाँच कार्यपत्र प्रस्तुत भएका थिए । बोर्डका कार्यकारी निर्देशक श्री परिष्टनाथ पौड्यालले धितोपत्र बजारमा सुपरिवेक्षण व्यवस्था तथा अभ्यास, बोर्डका निर्देशक श्री मुक्तिनाथ श्रेष्ठले धितोपत्र तथा वस्तु बजारसम्बन्धी कानूनी व्यवस्था र अभ्यास, निर्देशक श्री कृष्णराज पोखरेलले धितोपत्र बजारमा समष्टिगत नियमनसहित बुक बिल्ढिङ्ग प्रणाली र अभ्यास र निर्देशक डा.नवराज अधिकारीले धितोपत्र तथा वस्तु विनिमय बजारमा भएका हालसालका सुधार र गुणस्तरीय समाचार प्रवाह विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । साथै, वरिष्ठ आर्थिक पत्रकार श्री लोक बहादुर चापागाईले आर्थिक पत्रकारिताको नैतिक मूल्य र मान्यता र स्तरीय एवं विश्वसनीय समाचार लेखन विषयमा आफ्नो प्रस्तुतिकरण गर्नुभएको थियो । अन्तरक्रियाको क्रममा सहभागीले धितोपत्रको प्राथमिक निष्काशन प्रक्रिया, सूचीकृत संगठित संस्थाका लागि सुशासन निर्देशिका, पूँजी बजार साक्षरतामा बोर्डको भूमिका, भित्री कारोबार न्यूनीकरणमा बोर्डको भूमिका लगायतका विषयमा आ–आफ्नो जिज्ञासा राख्दै पूँजी बजार प्राविधिक विषय भएकोले यसमा प्रयोग हुने शब्दावली सम्बन्धमा अधिकांश पत्रकारमा अनभिज्ञता रहेकाले यस सम्बन्धमा बोर्डले पत्रकारलाई धितोपत्र तथा वस्तु विनिमय बजारका विविध प्राविधिक विषयवस्तुका सम्बन्धमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताएका थिए । प्राविधिक सत्रको समेत अध्यक्षता गर्नुभएका बोर्ड अध्यक्ष डा. कार्कीले कार्यक्रममा उठेका जिज्ञासाहरुको सम्बोधन गर्दै सर्वसाधारणबाट पूँजी संकलन गर्ने संगठित संस्थाहरुको गतिविधिहरु निकै संवेदनशिल विषय भएकोले यस्ता संस्थाहरु अनुशासित हुनुपर्ने, पूँजी बजार प्राविधिक तथा सूचनासँग संवेदनशील बजार भएकोले पत्रकारले सही एवं यथार्थ समाचार सम्प्रेषण गर्न अध्ययनशील र सुसूचित हुनुका साथै विशेष सावधानी अपनाउनुपर्ने बताउनुभयो । पूँजी बजारसम्बन्धी साक्षरता अभिवृद्धि गर्न बोर्डले विभिन्न सूचनासहितका धितोपत्र तथा वस्तु विनिमय सम्बन्धी सामग्रीहरु निरन्तर प्रकाशन गर्नुका साथै देशका दुर्गम जिल्लाहरुसहित उपत्यका बाहिरका क्षेत्रहरुमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । आगामी आर्थिक वर्षमा धितोपत्र बजार गतिविधि तथा बजार नियमनसम्बन्धी गुनासाहरुका सम्बन्धमा बजार सहभागीहरुको समेत सहभागीतामा प्रत्येक त्रैमासिक अवधिमा लगानीकर्ताहरुसँग अन्तरक्रिया कार्यक्रम र लगानीकर्ताको जिज्ञासाहरु सम्बोधन गर्न नेप्सेको सहकार्यमा पाक्षिक रुपमा काठमाडौं उपत्यकाको उपयुक्त स्थानमा लगानीकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तथा पूँजी बजारसम्बन्धी पाक्षिक रेडियो कार्यक्रम सञ्चालनको समेत व्यवस्था गर्ने एवं प्रदेश स्तरमा पत्रकार प्रशिक्षण कार्यक्रम गर्ने नीति तथा कार्यक्रम रहेको बताउनुभयो । उहाँले बोर्डले बजारको नियमन तथा विकास विस्तार गतिविधिका सन्दर्भमा बोर्ड र आर्थिक पत्रकारबीच हुनसक्ने भ्रम, द्विविधा तथा अस्पस्टता हटाई समझदारी बढाउन बोर्ड सदा प्रयत्नशिल रहेको समेत बताउनुभयो । बोर्डका कार्यकारी निर्देशिक श्री निरज गिरीले उपस्थित सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको सो कार्यक्रमको अन्त्यमा सेजनका अध्यक्ष श्री आचार्यले यस प्रकारको अन्तरक्रिया तथा छलफल कार्यक्रमले पूँजी बजार सम्बन्धी समाचारको गुणस्तरीय सम्प्रेषणमा बोर्ड र आर्थिक पत्रकारबीचको सहकार्य हुने भएकोले आगामी दिनमा समेत यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिनुपर्ने साथै पूँजी बजारको नियमन, विकास तथा विस्तार गतिशिल विषय भएकोले आर्थिक पत्रकारले यस विषयमा अध्ययनशील भई आफूलाई समेत अद्यावधिक गर्ने तर्फ पत्रकारले ध्यान दिनुपर्ने बताउँदै कार्यक्रम समापन गर्नुभयो । उक्त कार्यक्रमको सञ्चालन बोर्डका उप निर्देशक तथा सहायक प्रवक्ता श्री निरञ्जय घिमिरेले गर्नुभएको थियो ।