स्टक ब्रोकर एशोसियशन अफ नेपालका नवनियुक्त पदाधिकारीसँग भेटघाट सम्पन्न ।

स्टक ब्रोकर एशोसियशन अफ नेपालका नवनियुक्त पदाधिकारीहरुको प्रतिनिधिमण्डलले बोर्ड अध्यक्ष श्री भिष्मराज ढुंगानाज्यूसँग मिति २०७७।०७।२३ मा बोर्डको कार्यालय जावलाखेलमा भेट गरेको छ । प्रतिनिधिमण्डलको नेतृत्व स्टक ब्रोकर एशोसियशन अफ नेपालका नवनियुक्त अध्यक्ष श्री सन्तोष मैनालीले गर्नुभएको थियो ।

बोर्ड अध्यक्ष श्री भिष्मराज ढुंगानाज्यूले एशोसियशनका नवनियुक्त पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उक्त भेटमा नवनियुक्त अध्यक्ष श्री मैनालीले कोभिड–१९ का कारण धितोपत्रको दोस्रो बजारमा अवसर र चुनौती दुवै आएको उल्लेख गर्दै यसबीचमा अनलाइनमार्फत् कारोवार गर्ने लगानीकर्ताको संख्यामा उल्लेख बृद्धि भई दोस्रो बजारको दायरा बढिरहेकोमा जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई नयाँ उपकरणमार्फत् लगानीको थप अवसर प्रदान गरी बजार विस्तार गर्ने चुनौती कायमै रहेको तथा धितोपत्रको दोस्रो बजार प्रविधिमैत्री हुदै गर्दा ट्रेड म्यानेजमेनज सिस्टम (Trade Management System-TMS) र यसमा निहित जोखिम व्यवस्थापनका लागि छुट्टै संरचना र नीति ल्याई धितोपत्रको दोस्रो बजार कारोवारलाई व्यवस्थित बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । त्यस्तै, भेटमा स्टक ब्रोकर एशोसियशन अफ नेपालका नवनियुक्त उपाध्यक्ष श्री धर्मराज सापकोटा लगायत अन्य पदाधिकारीहरुले धितोपत्रको दोस्रो बजार सेवालाई थप संस्थागत बनाउदै लैजान आवश्यक रहेकोले त्यसमा एशोसियशनले विशेष भूमिका खेल्ने बताउँदै नियमन निकायको रुपमा बोर्डले दिने निर्देशनको अक्षरस पालना गर्दै जाने र बजार विकासका लागि बोर्डबाट अभिभावकको भूमिका अपेच्छा गरेको बताउनुभयो ।


भेटका क्रममा बोर्ड अध्यक्ष श्री ढुंगानाज्यूले धितोपत्र बजारको प्रतिष्ठा बढाउनुपर्ने र सो का लागि एशोसियशनले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउँदै TMS लाई थप प्रभावकारी बनाई बैंक इन्टिग्रशनको कार्य चाडै सम्पन्न गरी यसलाई लगानीकर्ताहरुले आफ्नो चाहना अनुरुपका धितोपत्र बजारका विभिन्न उपकरणमा लगानी गर्न सकिने गरी अन्तर्राष्ट्रिय स्तरको लगानीकर्तामैत्री बजार बनाउनुपर्ने बताउनुभयो । त्यस्तै, मार्जिन कारोवारलाई विस्तार गरी धितोपत्रको तरलता प्रदान गर्ने औजारको रुपमा विकास गर्ने, ऋणपत्रको दोस्रो बजार विस्तार गर्ने, ब्रोकरको शाखा कार्यालयमार्फत् दोस्रो बजारको पहुँच विस्तार गर्ने, आधिकारिक प्रतिनिधिका लागि पाठ्यक्रम विकास गरी ऐन अनुसार सो व्यवस्था प्रचलनमा ल्याउन कार्यविधि बनाउने, ब्रोकर कमिशनसम्बन्धी अध्ययन भइसकेकोमा सरोकारवाला पक्षसँग छलफल गरी अन्तिम रुप दिने लगायतका कार्य आगामी दिनमा सम्पन्न गर्नुपर्ने बताउनुभयो । उक्त भेटमा एशोसियशनका निवर्तमान अध्यक्ष श्री भरत रानाभाटको समेत उपस्थिति रहेको थियो ।