समृद्ध नेपाल लगानी समूहद्वारा आयोजित कार्यक्रमलाई बोर्ड अध्यक्षज्यूबाट सम्बोधन

पूँजी बजार हामी सबैको बजार हो।आगामी दिनमा यस बजारलाई अपांगमैत्री बनाउन थप पहल गरिनेछः बोर्ड अध्यक्ष श्री ढुंगाना।

मिति २०७८ वैशाख ३ मा नेपाल धितोपत्र बोर्डका अध्यक्ष श्री भिष्म राज ढुंगानाज्यूले समृद्ध नेपाल लगानी समूहद्वारा आयोजित छलफल तथा अन्तर्क्रियात्मक कार्यक्रममा सहभागी भै हौसला प्रदान गर्नुभएको छ।पूँजी बजारमा आवद्ध अपांगता भएका सर्वसाधारण लगानीकर्ताको प्रतिनिधित्व रहेको सो समुहले आयोजना गरेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पूँजी बजार हामी सबैको बजार भएको धारणा राख्नुभयो।कार्यक्रममा उहाँले कुल जनसंख्याको करिब 10 प्रतिशत सर्वसाधारण पूँजी बजारमा सहभागी रहेको सन्दर्भमा अपांगता भएका सर्वसाधारणको समेत सहभागी भएकोमा खुशी समेत व्यक्त गर्नुभयो।सम्बोधनको क्रममा उहाँले पूँजी बजारमार्फत् देशको आर्थिक विकासका लागि अपांगता भएका सर्वसाधारणको पूँजी बजारप्रतिको चासो तथा सहभागिता आगामी दिनमा थप उत्साहमूलक बन्न सकोस भन्ने शुभकामना दिनुभयो।

सम्बोधनकै क्रममा उहाँले नेपाल सरकारले समेत विकासका सबै मामिला र आर्थिक गतिविधिहरूमा सबै पक्षको समान सहभागिता र अवसरको प्रत्याभूति हुने गरी नीति तथा कार्यक्रमको तर्जुमा तथा कार्यान्वयन गर्दै आएकोमा पूँजी बजारमा समेत यस्तो सहभागिता रहेकोमा सरकारको समेत चासो एवं प्राथमिकता रहेको बताउनुभएको छ।उहाँले अपांगता भएका व्यक्तिहरूको बजार प्रवेशमा भएका प्रक्रियागत कठिनाईहरूको सम्बोधन गर्न र बजारमा प्रयोगमा रहेका प्रविधिहरू अपांगमैत्री बनाउदै लैजान आवश्यक भएको बताउनुभयो।

कार्यक्रममा उहाँले हल्लाको पछि नलागिकन सत्य तथ्य सूचनाको आधारमा सुझबुझपूर्ण लगानी गर्नुपर्ने धारणा राख्दै सहभागीलाई पूँजी बजारमा उत्साहपूर्वक सहभागिताको लागि शुभकामना प्रदान गर्नुभयो।कार्यक्रममा नेपाल स्टक एक्सचेञ्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि., स्टक ब्रोकर एशोसिएसन, नेपाल राष्ट्र बैंक लगायतका संस्थाहरूका समेत प्रतिनिधिहरू रहनुभएको थियो।

२०७८ वैशाख ३                                                                                                                                                                                  अध्यक्षको कार्यालय

                                                                                                                                                                                                           नेपाल धितोपत्र बोर्ड