लगानीकर्तासँग पहिलो प्रत्यक्ष रेडियो संवाद कार्यक्रम सम्पन्न

बोर्डले यही नयाँ वर्ष २०७६ को पहिलो बुधबार अर्थात बैशाख ४ गतेबाट लगानीकर्तासँग प्रत्यक्ष रेडियो संवाद कार्यक्रमको प्रसारण शुरूवात गरेको छ । धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी सर्वसाधारणको सचेतना अभिवृद्धि ्तथा गुनासा/जिज्ञासाहरू सम्बोधन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रम रेडियो कान्तिपुरबाट बिहान ७ ः३० देखि ८ः०० बजेसम्म लाइभ प्रसारण भएको हो ।

बोर्ड अध्यक्ष डा.रेवत बहादुर कार्की र बोर्डका उच्च कर्मचारीहरूको उपस्थितिमा सञ्चालन भएको उक्त कार्यक्रममा धितोपत्र बजार र यसको पछिल्लो अवस्थाको बारेमा चर्चा भएको थियो भने केही सर्वसाधारणले बजारसम्बन्धमा आफ्ना गुनासाहरू राखेकोमा अध्यक्ष डा. कार्कीले सोको सम्बोधन गर्नुभएको थियो । यो कार्यक्रम आगामी दिनमा प्रत्येक महिनाको पहिलो बुधबार बिहान ७ः३० देखि ८ः०० बजेसम्म नियमित रूपमा लाइभ प्रसारण हुने छ । सर्वसाधारण लगानीकर्ताले फोन नं. ०१–५५४१९०५, ५५४१९०६ मा सम्पर्क गरी कार्यक्रममा सहभागी हुन सक्नेछन् ।

साथै, सर्वसाधारणले बोर्डको वेबसाइट www.sebon.gov.np मा लगइन गरी Grievances Button मा क्लिक गरी आफ्ना गुनासाहरू अनलाइन दर्ता गर्न सक्ने व्यवस्था समेत बोर्डले गरेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ । यसरी पछिल्लो समय बोर्डले वित्तीय साक्षरता अभिवृद्धि तथा लगानीकर्ताका गुनासा/जिज्ञासाहरूको सुनुवाई गर्ने संयन्त्रलाई प्रभावकारी बनाउँदै लगेको हुँदा एकातिर साक्षर एवंम सचेत लगानीकर्ताको संख्यामा वृद्धि हुने तथा अर्कोतर्फ उनीहरूको गुनासा/जिज्ञासाहरू समयमै सम्बोधन हुने वातावरण बन्दै जाने विश्वास बोर्डले लिएको छ ।