बोर्डको २९ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न ।

नेपाल धितोपत्र बोर्ड स्थापनाको २८ वर्ष पूरा गरी २९ औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा बोर्डले वेबिनार मार्फत् वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । बोर्डका अध्यक्ष श्री भिष्मराज ढुंगानाज्यूको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा माननीय उप–प्रधानमन्त्री तथा अर्थ मन्त्री श्री विष्णु प्रसाद पौडेलज्यूले आतिथ्यता ग्रहण गर्नुभएको थियो । त्यसैगरी कार्यक्रमको विशेष अतिथिमा राजष्व सचिव श्री रामशरण पुडासैनीज्यू रहनुभएको थियो भने कार्यक्रममा बोर्डका सञ्चालक समितिका सदस्यहरु, बोर्डका कार्यकारी निर्देशकज्यू लगायत अन्य कर्मचारीको उपस्थिति रहेको थियो । साथै उक्त कार्यक्रममा लगानीकर्ता, पत्रकार लगायत अन्य सरोकारवाला पक्षहरुको समेत भर्चुअल माध्यमबाट सहभागिता रहेको थियो ।


उक्त कार्यक्रमका प्रमुख अतिथि माननीय उप–प्रधानमन्त्री तथा अर्थमन्त्री श्री विष्णु प्रसाद पौडेलज्यूले पछिल्ला दिनमा पूँजीबजारमा लगानीकर्ताको आकर्षण बढी रहेको, लगानीकर्ताको संख्या तथा लगानीको आकार बढ्दै गएको सन्दर्भलाई लगानीकर्ताको सरकार प्रतिको विश्वासका अर्थमा बुझेको बताउनु भयो । उहाँले आ.व. २०७८।७९ को बजेटमा पूँजीबजार सम्बन्धी केही महत्वपूर्ण दृष्टिकोणहरु अगाडि सारिएका र विशेष गरी वस्तु विनिमय बजारको आरम्भ गर्ने अठोट प्रस्तुत गरिएकोले यसका लागि बोर्डले आवश्यक गृहकार्य गरी समयमै वस्तु विनिमय बजारको आरम्भ गर्न प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले अहिलेको बोर्ड नेतृत्व अन्तर्गत भएका सराहनिय कार्यहरुका लागि नेतृत्वलाई धन्यवाद दिंदै आगामी दिनमा पनि अझ सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास प्रकट गर्नुभयो । कार्यक्रममा उहाँले इतिहासका अनुभवबाट शिक्षा लिंदै, उपलब्धीलाई सबल तुल्याउँदै तथा कमजोरीलाई हटाउँदै आउने दिनमा पूँजीबजारलाई सशक्त, गतिशिल र प्रभावशाली बनाउन सफलता मिलोस्भनि बोर्डको बार्षिकोत्सवको अवसरमा शुभकामना प्रदान गर्नुभयो । साथै, पूँजीबजारका क्षेत्रमा कुनै पनि अनियमितता हुन नदिई, लगानीका क्षेत्रहरु र दायरा विस्तार गरी मुलुकको आर्थिक वृद्धिमा बोर्डले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गर्दै लगानीकर्ताको हकहित तथा बजार विकास र विस्तारका लागि अगाडि बढ्न माननीय उपप्रधान तथा अर्थमन्त्रीज्यूले निर्देशन दिनुभयो ।


कार्यक्रमका सभापति तथा बोर्ड अध्यक्ष श्री भिष्मराज ढुंगानाज्यूले बोर्डको २९ औं वार्षिकोत्सवको सुखद उपलक्ष्यमा बोर्डलाई आजको स्थानमा ल्याउन योगदान गर्नुहुने सबैलाई धन्यबाद ज्ञापन गर्दै बोर्डको कामकारवाही र भावी प्राथमिकताका बारेमा आफ्ना भनाई राख्नुभएको थियो । उहाँले डिम्याट खाताको संख्या, मेरो शेयर खाताको संख्या, प्रारम्भिक सार्वजनिक निष्काशनमा आवेदनकर्ताको संख्या, प्राथमिक बजारमार्फत् भएको पूँजी परिचालन आदिमा भएको उल्लेख्य वृद्धिका बारेमा उल्लेख गर्दै धितोपत्र बजारको विकास तथा विस्तारका लागि बोर्डले पछिल्लो समय चालेका कदमका कारण बजारमा सर्वसाधारणको सहभागिता उत्साहजनक रुपमा बढ्दै गएको तथा पूँजी बजारमा लगानीकर्ताहरु क्रमशः प्रविधिमैत्री हुँदै गएको बताउनुभयो । साथै उहाँले दोस्रो बजारमा बजार पूँजिकरणको अनुपात कुल गार्हस्थ उत्पादनको बराबरी पुग्नु उपलब्धीमुलक रहेको बताउँदै कारोबार रकममा भएको उल्लेख्य वृद्धिले धितोपत्र बजारको तरलता बढेको पुष्टी गरेको बताउनुभयो । उहाँले लामो समयदेखि स्पष्ट नभएको पूँजीगत लाभकर सम्बन्धी व्यवस्थालाई नेपाल सरकारबाट स्पष्ट गरिदिएपश्चात् लगानिकर्ताको आत्मविश्वास अभिवृद्धि हुन सकेको धारणा राख्नुभयो । बोर्डले आफ्ना गतिविधिहरुलाई बजारको संरचनात्मक सुधार तथा परिवर्तन, नयाँ थप ब्रोकरको व्यवस्था, कानूनी तथा नीतिगत पक्षहरुको सुदृढिकरण र बोर्डको नियमन तथा सुपरिवेक्षकिय क्षमता अभिवृद्धि जस्ता क्षेत्रमा जोड दिने तथा बोर्डको संस्थागत क्षमता अभिवृद्धि गर्नेतर्फ पनि पहलगामी कदम लिने बताउनु भयो । कार्यक्रममा बोर्ड अध्यक्षज्यूले विगत एक वर्षमा भएका कामकारवाहीका बारेमा समेत संक्षेपमा प्रकाश पार्नुुभयो ।

उक्त कार्यक्रममा माननीय उप–प्रधानमन्त्री तथा अर्थ मन्त्रीज्यूबाट नेपाल धितोपत्र बोर्ड २९ औं वार्षिकोत्सव लेख विशेषांक २०७८ को बिमोचन समेत गरिएको थियो । त्यस्तै, बोर्डका अध्यक्षज्यूले आर्थिक वर्ष २०७७।७८ को नेपाल धितोपत्र बोर्ड पूँजीबजार उत्कृष्ट पत्रकारिता पुरस्कार र पूँजीबजार तथा बस्तु बजार सम्बन्धी विषयका उत्कृष्ट तीन शोधपत्रहरुको घोषणा गर्नुभएको थियो । जसअनुसार आ.व. २०७७।७८ को पूँजीबजार उत्कृष्ट पत्रकारिता पुरस्कार नेपाल आर्थिक पत्रकार संघ (नाफेज) ले तथा उत्कृष्ट शोधपत्र सम्बन्धी प्रथम पुरस्कार त्रिभुवन विश्वविद्यालयका एम. फिलका बिद्यार्थी श्री जस बहादुर गुरुंग र दोस्रो तथा तेस्रो पुरस्कार पोखरा विश्वविद्यालयका एम.बि.ए. का विद्यार्थी क्रमशः श्री नरेश सिम्खडा र श्री सरीना राईले प्राप्त गर्नुभयो । सो कार्यक्रममा शोधपत्र मुल्यांकन विधि तथा प्रकृयाका बारेमा बोर्डका उप–कार्यकारी निर्देशक डा. नवराज अधिकारीले प्रकाश पार्नुभएको थियो ।


कार्यक्रममा बोर्डका का.मु. कार्यकारी निर्देशक श्री मुक्तिनाथ श्रेष्ठले कार्यक्रमको गरिमा र बोर्डको हौसला बढाइदिनुभएकोमा माननीय उपप्रधान तथा अर्थ मन्त्री लगायत सम्पूर्ण सहभागि महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमको सञ्चालन बोर्डका उप कार्यकारी निर्देशक दिपा दाहालले गर्नुभएको थियो ।

                                                                                                                                                                                                                                                    मिति २०७८।०२।२५