बोर्ड तथा सर्वोच्च अदालत बार एशोसिएशन द्वारा संयुक्त रुपमा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

बोर्ड तथा सर्वोच्च अदालत बार एशोसिएशनद्वारा मिति २०७५ माघ २५ मा संयुक्त रुपमा आयोजित धितोपत्र बजार, नियमन तथा कानूनी व्यवस्था र अदालती अभ्यास विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम पूर्व न्यायाधिश तथा अधिवक्तासहित करिब १२० जनाको सहभागितामा सम्पन्न भएको छ । एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता श्री खगेन्द्र प्रसाद अधिकारीको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री अनिल कुमार सिन्हाले विगतको प्राथमिक बजारमा भोगेका कठिनाइहरुको स्मरण गर्दै पछिल्लो समयमा नेपालको धितोपत्र बजारले एक फड्को मारेको बताउनुभयो । उहाँले यस बजारको आकार, क्षेत्र तथा दायरा विस्तार भएका कारण कानून व्यवसायीका लागि एक महत्वपूर्ण विषय भएको बताउँदै यसमा विभिन्न प्रकारका मुद्दा, मामिला आउन सक्ने भएकाले कानून व्यवसायीहरुले अध्ययन तथा अनुभवका आधारमा यस बजारप्रति आफ्नो ज्ञान विस्तार गर्न आवश्यक भएकोले यस प्रकारको अन्तरक्रिया तथा छलफल कार्यक्रम विशेष रहने धारणा राख्नुभयो । उहाँले धितोपत्र बजारका साथै वस्तु विनिमय बजार पनि नयाँ प्रकृतिको विषय भएकाले यसमा लगानी गरी प्रतिफल प्राप्त गर्न ज्ञान तथा कौशलता (Knowledge and Skill) दुवै आवश्यक हुने हुँदा यस बारेमा सर्वसाधारणलाई प्रशिक्षित गर्नुपर्ने बताउनुभयो । उहाँले धितोपत्र बजार केवल लगानी र प्रतिफलको विषय मात्र नभई देशको आर्थिक विकासको संवाहक भएको धारणा समेत राख्नुभयो ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै कार्यक्रमका विशेष अतिथि तथा बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्कीले अर्थतन्त्रमा पूँजी परिचालनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने पूँजी बजार विकसित देशहरुमा महत्वपूर्ण संयन्त्रको रुपमा रहेकोमा नेपालमा पनि यस बजारको दायरा विस्तार हुँदै गएको भनाई राख्नुभयो । उहाँले बैंक, वित्तीय संस्था, जलविद्युत कम्पनी, बीमा, होटल लगायत अन्य वास्तविक क्षेत्रका कम्पनीहरुको समेत उपस्थिति रहेको नेपालको पूँजी बजार पछिल्लो समय संरचनात्मक सुधारको क्रमबाट अगाडि बढेको समेत बताउँनुभयो । उहाँले प्राथमिक बजार देशव्यापी भएको तथा दोस्रो बजार क्रमशः देशव्यापी हुँदै गएको सन्दर्भमा बजार सहभागीको व्यवसायिक क्षमता अभिवृद्धि गर्दै परस्परमा बाझिएका कानूनहरु मिलाउने, ट्रष्ट ऐन तथा म्युचुअल फण्डसम्बन्धी ऐनको तर्जुमा, विद्यमान ऐन नियमहरुलाई समयसापेक्ष बनाउने र बजार गतिविधि तथा सेवाहरुलाई उच्च प्रविधियुक्त बनाई स्तरीय एवं. विश्वसनीय धितोपत्र तथा वस्तु विनिमय बजारको विकास तथा विस्तार गर्न चुनौतीपूर्ण भएको धारणा राख्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि श्री सिन्हाले प्राविधिक सत्रमा चार वटा प्रस्तुति रहेको उक्त कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक श्री निरज गिरीले धितोपत्र बजारको वर्तमान अवस्था र सुधार तथा बोर्डका उप कार्यकारी निर्देशक श्री मुक्तिनाथ श्रेष्ठले धितोपत्र बजारमा रहेका कानूनी व्यवस्थाका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो भने नेपाल स्टक एक्सचेञ्ज लि. का का.मु. प्रबन्धक श्री निरञ्जन फुँयालले धितोपत्रको दोस्रो बजार विषयमा र अधिवक्ता श्री शिव प्रसाद रिजालले धितोपत्र बोर्डसम्बन्धी कानूनी व्यवस्थाहरु र अदालती अभ्यासका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले नेप्सेको उत्तारचढाव, सर्किट ब्रेकर, नयाँ कारोबार प्रणालीमार्फत् भएको माथिल्लो तामाकोशीको सम्पूर्ण शेयर कारोबार रद्द, दोस्रो बजार मूल्यमा भएको निरन्तर गिरावट, लगानीकर्ताको हक हित संरक्षण, जलविद्युत कम्पनीको शेयर स्वामित्वको निश्चित समयसीमा तथा नियमन लगायतका विषयहरुमा उठाएका जिज्ञासाहरुको सम्बोधन सम्बन्धित कार्यपत्र प्रस्तोता र बोर्ड अध्यक्ष डा. कार्कीले गर्नुभएको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै कार्यक्रमका अध्यक्ष श्री अधिकारीले बोर्ड र कानून व्यवसायीबीच भएको यस प्रकारको संवादले कानूनी व्यवसायीको भूमिका बढेको साथै थप जिम्मेवारी बनाएको बताउनुभयो । उहाँले कानून प्रवलीकरणमा बोर्डको समेत भूमिका रहेको जानकारी प्राप्त भएको बताउँदै धितोपत्र बजारमा भए गरेका कानूनी अभ्यासलाइ थप सुदृढीकरण तथा पारदर्शी अदालती प्रक्रियाका लागि कानून व्यवसायी थप सक्रिय भई मार्गनिर्देशक हुन सक्नु पर्ने धारणा राख्नुभयो । सर्वोच्च अदालत बार एशोसिएशनका उपाध्यक्ष अधिवक्ता श्री राजु खड्काले स्वागत मन्तव्य दिनुभएको सो कार्यक्रममा उपस्थित सबैलाई बोर्डका कार्यकारी निर्देशक श्री परिष्ट नाथ पौड्यालले धन्यवाद दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन सर्वोच्च अदालत बार एशोसिएसनका सचिव अधिवक्ता श्री शुभन राज आचार्यले गर्नुभएको थियो ।