धितोपत्र बजारमा स्थायी लेखा नम्बर (प्यान) को व्यवस्था सम्बन्धमा अन्तरक्रिया तथा छलफल कार्यक्रम ।

बोर्डले आज मिति २०७५ फागुन १३ मा धितोपत्र बजारमा स्थायी लेखा नम्बर (प्यान) को व्यवस्था विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत, नेप्से, सिडिएससी, मर्चेन्ट बैंकर एशोसिएसन, स्टक ब्रोकर एशोसिएसनका साथै विभिन्न लगानीकर्ता संघसंस्थाका पदाधिकारी एवं सर्वसाधारण लगानीकर्ताहरुसहित करिब ७० जनाको उपस्थितिमा रहकोे थियो । नेपाल सरकारको आ.व. २०७५।७६ को बजेट कार्यान्वयन योजना अन्तर्गत धितोपत्रको दोस्रो बजारमार्फत शेयर खरिद गर्दा खरिदकर्ताले अनिवार्य रूपमा स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्थालाई कार्यान्वयन गर्ने सम्बन्धमा बोर्डद्वारा आयोजित उक्त कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, बत्तिसपुतलीका प्रमुख कर अधिकृत श्री टंकनाथ पौडेलले प्यान सम्बन्धी कानूनी व्यवस्था, प्यान लिने प्रक्रिया तथा आवश्यक कागजात र यो लिँदाका फाइदा सम्बन्धमा जानकारी गराउनुभएको थियो।

नेपाल ईन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ, नेपाल पूँजी बजार लगानीकर्ता संघ, नेपाल पूँजी बजार संघ र शेयर लगानीकर्ता दबाब समूह गरी लगानीकर्ताका पाँच(५) वटा संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सो पाँचै संघ संस्थाका पदाधिकारीहरुले लगानीकर्ता प्यानको विरोधी नरहेको धारणा राख्दै पूँजीगत लाभ कर अन्तिम कर हो कि होइन, अघिल्लो वर्षको वार्षिक कारोबारमा भएको घाटालाई नाफामा समायोजन गरी कर निर्धारण हुने, हाल शेयर खरिदकर्तालाई मात्रै प्यान अनिवार्य गरिएकोमा शेयर बिक्रीकर्तालाई सो व्यवस्था नभएको सम्बन्धमा, नाबालक तथा विदेशमा रहने नेपाली लगानीकर्ताले प्यान लिने सम्बन्धमा, प्यान स्वत स्फूर्त रुपमा लिने वातावरण र प्यान लिनका लागि देशभर सहज रुपमा आवश्यक पूर्वाधार नरहेको जस्ता जिज्ञासा राख्नु भएको थियो । साथै सबै लगानीकर्ताका संस्था पदाधिकारीले लगानीकर्ताको स्तर, देशको भौगोलिक अवस्थाका साथै अन्य व्यवहारिक पक्षहरुलाई समेत मध्यनजर गरी प्यान २०७६ वैशाख १ देखि अनिवार्य रुपमा लागू नगरी ऐच्छिक रुपमा लिने व्यवस्था गरी चरणबद्ध रुपमा लागू गर्नुपर्ने धारणा राख्नुभएको थियो । त्यसैगरी कार्यक्रममा धितोपत्र दलाल व्यवसायीको तर्फबाट हालै सञ्चालनमा ल्याइएको कारोबार प्रणाली तथा सिडिएससीको प्रणालीमा समेत प्यान ईन्ट्री गर्ने व्यवस्था नरहेको भन्दै यसमा प्राविधिक समस्या समेत रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा लगानीकर्ताहरुका तर्फबाट राखिएका केही जिज्ञाशाहरुको सम्बोधन आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत श्री पौडेल तथा उपस्थित अन्य कर अधिकृतहरुले गर्नुभएको थियो । बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले आजको कार्यक्रमबाट यसका सरोकारवाला पक्षहरु बीच स्थायी लेखा नम्बरका सम्बन्धमा रहेका समस्या तथा व्यवहारिक पक्षको जानकारी भएको बताउनु भयो । साथै उहाँले शेयर बजारमा प्यान लागू गर्ने विषय प्राविधिक विषय समेत भएकोले यसका व्यवहारिक पक्ष र बजारको अवस्थालाई समेत ध्यान दिई सम्पूर्ण पक्ष अघि बढ्नुपर्ने धारणा राख्दै कार्यक्रममा लगानीकर्ताहरुको तर्फबाट प्राप्त सुझाव तथा राखिएका विचारहरु सरोकारवाला निकायहरु समक्ष राखी आवश्यक सहजीकरणका लागि बोर्ड तयार रहेको समेत बताउनुभयो । बोर्डका कार्यकारी निर्देशक श्री निरज गिरीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उपस्थित सबैलाई बोर्डका कार्यकारी निर्देशक श्री परिष्टनाथ पौडेलले धन्यवाद दिनुभएको थियो।

   नेपाल धितोपत्र बोर्ड                                                                                                                                             मिति २०७५।११।१३