सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन निर्देशिका, २०७४ कार्यान्वयनसम्बन्धी अन्तरक्रिया/छलफल कार्यक्रम सम्पन्न ।

नेपाल धितोपत्र बोर्ड (बोर्ड) बाट सूचीकृत संगठित संस्थाहरुको काम कारवाहीलाई नियमित एवं व्यवस्थित गरी शेयरधनी लगायत अन्य सम्पूर्ण सरोकारवाला पक्षहरु प्रति सम्बन्धित संस्थालाई उत्तरदायी बनाई धितोपत्र बजारलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन २०७४ माघ २५ मा सूचना तथा जानकारी प्रवाह, सञ्चालक समिति, अध्यक्ष, सञ्चालक तथा आचरण, जोखिम व्यवस्थापन, आतरिक नियन्त्रण प्रणाली, संगठन संरचना, कर्मचारी तथा परिपालन अधिकृत, लेखा तथा लेखा परीक्षण तथा संगठित संस्थाले गर्नुपर्ने तथा गर्न नहुने कार्यहरु सम्बन्धी व्यवस्थाहरु समावेश गरी सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका जारी गरेको थियो । उक्त निर्देशिका लागू गर्ने सम्बन्धमा सम्बन्धित संगठित संस्थाहरुलाई छ महिनाको समय दिई यही २०७५ साउन १ देखि लागू गर्ने सन्दर्भमा निर्देशिकामा भएका व्यवस्थाहरुको बारेमा सूचीकृत कम्पनीलाई अभिमुखीकरण गर्ने तथा निर्देशिकाका व्यवस्थाहरुको परिपालना गर्नमा हुनसक्ने व्यवहारिक कठिनाई बुझ्ने र अन्य सरोकारवाला पक्षहरुको राय/सुझाव लिने उद्देश्य लिई सूचीकृत कम्पनीका प्रमुख कार्यकारी अधिकृत/प्रमुख वित्तीय अधिकृतहरु तथा अन्य सरोकारवाला पक्षहरुका प्रतिनिधिहरुसँग मिति २०७५ असार २६ मा अन्तरक्रिया/छलफल कार्यक्रम सम्पन्न गरेको छ । बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्कीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान) का अध्यक्ष श्री प्रकाशजंग थापा तथा आईक्यानका उपाध्यक्ष श्री जगन्नाथ उपाध्याय (निरौला) विशेष अतिथि तथा बोर्डका विज्ञ संचालक श्री निल सारु मगर अतिथि रहनु भएको थियो । सूचीकृत कम्पनीका प्रमुख कार्यकारी अधिकृत/प्रमुख वित्तीय अधिकृतहरु, बैंक तथा वित्तीय संस्थाहरुसंग सम्बन्धित विभिन्न संघका प्रतिनिधिहरु, धितोपत्र व्यवसायी संघहरुका प्रतिनिधिहरु, विभिन्न लगानीकर्ता संघका प्रतिनिधिहरु, नेपाल उद्योग वाणिज्य महांसंघ, नेपाल उद्योग परिसंघ तथा सम्बन्धित अन्य निकायहरुका प्रतिनिधि समेत गरी कूल ९६ जनाको उक्त कार्यक्रममा सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा बोर्डका निर्देशक श्री मुक्तिनाथ श्रेष्ठले ‘सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन निर्देशिका, २०७४ का मुख्य व्यवस्था’ र बोर्डका कार्यकारी निर्देशक श्री निरज गिरीले ‘संस्थागत सुशासन निर्देशिकाको परिपालना सम्बन्धी वार्षिक प्रतिवेदनको ढाँचा’ विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

कार्यक्रमका विशेष अतिथि आईक्यानका अध्यक्ष श्री थापाले निर्देशिका संस्थागत सुशासनसम्बन्धी ओईसिडि तथा अन्य अन्तरराष्ट्रिय संस्थाद्वारा प्रतिपादित सिद्धान्त समेतलाई विचार गरी नेपालको संस्थागत परिवेश अनुकूल हुने गरी तयार गरिएकोले बोर्डको प्रयासको सह्राना गर्नुभयो । साथै उहांले बोर्डले ल्याएको निर्देशिका सम्बन्धित कम्पनी तथा बजारका लागि महत्वपूर्ण भएकाले विशेष ऐन अन्तर्गत स्थापित कम्पनी लगायतसम्बन्धित सम्पूर्णले पूर्णरुपमा परिपालना गर्नुपर्ने, संंस्थाहरुले स्वनियमनमा जोड दिएमा सुशासन राम्रो हुने, संस्थागत सुशासनसम्बन्धी व्यवस्थाहरुको परिपालना गरेको जानकारी कम्पनीको वार्षिक प्रतिवेदनमा समावेश हुनुपर्ने तथा संस्थागत सुशासनसम्बन्धी व्यवस्थाहरुको परिपालना सम्बन्धित कम्पनीको धितोपत्र धितोपत्र विनिमय बजारमा सूचिकरणका लागि अनिवार्य गरिएमा बोर्डको प्रयासले देशको धितोपत्र बजार तथा संस्थागत अभ्यासमा नै सकारात्मक परिवर्तन ल्याउने विचार व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै आईक्यानका उपाध्यक्ष तथा बोर्डका संचालक श्री उपाध्यायले बैंक तथा वित्तीय संस्थाहरु र बीमा कम्पनीहरुका लागि संस्थागत सुशासनसम्बन्धी आचार संहिता/निर्देशिकाको व्यवस्था भैसकेको भएतापनि अन्य क्षेत्रका कम्पनीहरुका लागि संस्थागत सुशासन निर्देशिका आवश्यक भएको र संस्थागत सुशासन अन्तरर्राष्ट्रिय अभ्यास समेत भएकोले यसको अनुसरण नेपालमा पनि आवश्यक भएको सन्र्दभमा बोर्डबाट गरिएको यो प्रयास अत्यन्त समसामयिक एवं महत्वपूर्ण भएकोले सम्बन्धित सवैले यसको परिपालना गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । साथै उहांले छलफलका क्रममा सहभागीहरुबाट विभिन्न महत्वपूर्ण सुझाव प्राप्त भएकोले कहां कसरी सुधार तथा समावेश गर्न सकिन्छ, हरेर गर्ने जानकारी समेत दिनुभयो । उक्त कार्यक्रम तथा प्राविधिक सत्रका अध्यक्ष डा.कार्कीले कार्यक्रममा सहभागीहरुबाट राखिएका जिज्ञासाहरु संबोधन गर्दै प्राप्त महत्वपूर्ण सुझावहरुमा थप अध्ययन तथा छलफल गरी निर्देशिकामा समावेश गरिने जानकारी दिनुभयो । साथै अध्यक्ष डा.कार्कीले बोर्ड धितोपत्र नियमन निकायहरुको अन्तरर्राष्ट्रिय संस्था (आइओस्को) को सदस्य भैसकेकोले धितोपत्र बजारमा संस्थागत सुशासनमा सुधार ल्याउनुपर्ने दबाव बढ्दै गएको सन्दर्भमा बोर्डले यो निर्देशिका तयार गरी लागू गर्न गईरहेको र निर्देशिका विशेष नियमन निकाय नभएका विभिन्न क्षेत्रका कम्पनीहरुलाई समेत लक्षित गरिएकोले यसका व्यवस्थाहरुलाई पूर्णरुपमा परिपालना गराउने कार्य चुनौतीपूर्ण भएतापनि सम्बन्धित पक्षहरुबाट यसलाई सकारात्मकरुपमा लिई आवश्यक सहयोग भएमा यसका व्यवस्थाहरु लागू गर्न कुनै कठिनाई नहुने विश्वास व्यक्त गर्नुभयो ।

बोर्डको संस्थागत सुशासन निर्देशका तथा प्रस्तुत भएका विषय वस्तु सम्बन्धी छलफल कार्यक्रममा सक्रियरुपमा भागलिदै सहभागीहरुले वित्तीय स्वार्थ, कम्पनी सचिवहरुको नियमन, निर्देशिकाका विभिन्न दफाहरुमा रहेका द्विविधा, दोहोरोपना तथा एकआपसमा तथा अन्य सम्बन्धित व्यवस्थाहरुसंग बाझिएका व्यवस्थाहरु, अध्यक्षले बैठकको एजेण्डा तयार गर्ने कुरा, सहायक कम्पनी वा मुख्य कम्पनी कसलाई लागू हुने हो भन्ने सम्बन्धमा भएका अस्पष्टता, लेखा परीक्षण समिति तथा सम्पत्ति तथा दायित्व समितिसम्बन्धी व्यवस्था, खरिद कार्यविधि, बीमा अभिकर्ताको तालिमको व्यवस्था, सूचना प्रवाहमा स्पष्टता, वास्तविक क्षेत्रका संचालकका लागि फरक व्यवस्था हुनुपर्ने, साना लगानीकर्ताको परिभाषा, संचालक हुनु अघि तथा पछिको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने, अध्यक्ष तथा कार्यकारी संचालकको कार्यसम्पादन मूल्यांकन व्यवस्था, बैंकोइन्सौरेन्ससम्बन्धी व्यवस्था, विशेष ऐनद्वारा स्थापित कम्पनीका लागि छुट्टै व्यवस्था, बोर्डको अनुगमन तथा सुपरिवेक्षण क्षमता, स्वतन्त्र संचालकको चयन तथा संचालकको उमेरहदसम्बन्धी व्यवस्था, कम्पनी सचिव तथा नियम परीपालना अधिकृतको भूमिकामा स्पष्टता, सामूहिक लगानी योजनाका लागि निर्देशिका लागू हुनुपर्नेे, संचालक समितिको गलत कार्यलाई नियन्त्रण गर्न कार्यसम्पादन मूल्यांकनको व्यवस्था हुनुपर्ने, सरोकारवाला पक्ष स्पष्ट परिभाषित हुनुपर्ने सम्बन्धमा जिज्ञासा तथा सुझाव प्रस्तुत गरेका थिए ।

बोर्डका कार्यकारी निर्देशक श्री परीष्टनाथ पौड्यालद्वारा सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रम सम्बन्धमा प्रकाश पारिएको उक्त कार्यक्रम बोर्डका निर्देशक डा.नबराज अधिकारीले संचालन गर्नुभएको थियो ।