वास्तविक क्षेत्रका कम्पनीलाई पुँजी बजारमा सहभागी गराउन पहिलो अन्तर्कृया कार्यक्रम

बोर्डले संगठित संस्थाले जारी पुँजीको न्यूनतम १० प्रतिशत प्रारम्भिक सार्वजनिक निष्काशन गर्न सक्ने, प्रिमियम मूल्यमा धितोपत्र जारी गर्न सक्ने तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न सक्ने व्यवस्था सहितको नयाँ धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ नेपाल सरकारको स्वीकृतिमा ल्याएको पृष्ठभूमिमा नयाँ धितोपत्र निष्काशन निर्देशिका जारी गर्ने पूर्व सन्ध्यामा वास्तविक क्षेत्रका कम्पनीलाई पुँजी बजारमा आकर्षित गर्न तथा सम्बन्धित क्षेत्रको सुझाव निर्देशिकामा समावेश गर्न वास्तविक क्षेत्रका प्रमुख २ प्रतिनिधिमूलक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघका सदस्य संस्थाहरु, एनसेल प्रा.लि., चन्द्रागिरी हिल्स् लि. तथा विभिन्न जलविद्युत, हाउजिङ्ग, लगानी कम्पनीहरु सहित १०० भन्दा बढीको सहभागितामा हालै पहिलो पटक एक अन्तर्कृया कार्यक्रम सम्पन्न गर्यो ।

उक्त कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक श्री निरज गिरीले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा रहेको सार्वजनिक निष्काशन सम्बन्धी नयाँ व्यवस्था तथा प्रकृया सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै वास्तविक क्षेत्रका कम्पनीहरुको सल्लाह सुझाव ग्रहण गरी धितोपत्र निष्काशन निर्देशिका जारी गर्ने बताउनुभयो । एफसिए श्री जगदिश भट्टराईले वास्तविक क्षेत्र तथा दीर्घकालीन पुँजी परिचालन सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै प्राइभेट संस्था पब्लिकमा गई धितोपत्रको सार्वजनिक निष्काशन गर्दा हुने विभिन्न फाइदाहरु जस्तै बृहत पुँजी परिचालन हुने, साहास पुँजी (venture capital) लाई आकर्षित गर्न सकिने, नयाँ सोच तथा उद्यमशीलता प्रोत्साहित हुने, तरलतामा बृद्धि हुने, कम्पनीको मूल्य बढ्न गई महत्व बढ्ने, कम्पनीको ब्राण्ड स्थापित हुने तथ्य स्पष्ट गर्दै वास्तविक क्षेत्रले सिमित परम्परावादी व्यापारिक सोचलाई त्याग्दै पुँजी बजारमा प्रवेश गरी लाभ लिनुपर्ने बताउनुभयो । त्यस्तै नेपाल मर्चेण्ट बैंकर संघका अध्यक्ष श्री प्रविणरमण पराजुलीले सार्वजनिक निष्काशन सम्बन्धी नयाँ व्यवस्था तथा मर्चेण्ट बैंकिङ्ग सेवा सम्बन्धमा संक्षिप्त प्रस्तुती पेश गर्नुभएको उक्त कार्यक्रममा छलफलको क्रममा सहभागी उद्योगी तथा व्यवसायीहरुले स्वतन्त्र मूल्य निर्धारण विधि, नियमनकारी निकाय नभएका कम्पनीलाई बोर्डले नै नियमन गर्नुपर्ने, पुँजी बजारमा कृषि क्षेत्रलाई पनि आकर्षिक गर्नुपर्ने, मर्जर, एक्विजिशन तथा थप निष्काशन प्रकृयालाई अझ सरल तथा सहज बनाउनुपर्ने, सूचिकृत कम्पनीबाट प्रकाशित हुने वित्तीय विवरण प्रवाहलाई नियमित बनाई सो को विश्लेषण गर्नुपर्ने र बोर्डको वेभसाइट मार्फत केन्द्रीकृत रुपमा सबैलाई सूचना प्रवाह गर्नुपर्ने, उद्योगीमा कर छुट सम्बन्धी द्विविधा रहेकोमा सो स्पष्ट पार्नुपर्ने लगायतका विषयमा जिज्ञासा राख्नुभएकोमा सो सम्बन्धमा बोर्ड अध्यक्ष डा.रेवत बहादुर कार्की तथा कार्यपत्र प्रस्तोताहरुले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमका विशेष अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री पशुपति मुरारकाले राज्य वास्तविक क्षेत्रका कम्पनीलाई पुँजी बजारमा ल्याउन सकारात्मक रहेको र बोर्ड यस कार्यमा अग्रसर भइरहेको अवस्थामा बोर्ड तथा नेपाल उद्योग वाणिज्य महासंघ सहकार्य गरी यही आर्थिक वर्षमा नै कम्तीमा ५ वटा वास्तविक क्षेत्रका कम्पनीहरुलाई पुँजी बजारमा भित्र्याई यस कार्यलाई उदाहरणीय बनाउनुपर्ने र वास्तविक क्षेत्रका कम्पनीले सुशासनमा समेत जोड दिनुपर्ने बताउनुभयो । त्यस्तै अर्का विशेष अतिथि नेपाल उद्योग परिसंघका अध्यक्ष श्री हरिभक्त शर्माले प्रविधि विकास गरी आफ्नो छुट्टै ब्राण्ड बनाउन सफल उद्योगलाई अन्य देशको पुँजी बजारमा उपलब्ध हुने सुविधा नेपालमा समेत हुनुपर्ने, कम्पनीको संवेदनशील सूचना चुहाउन खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सुदृढ नियमन व्यवस्था गर्नुपर्ने र एकल संचालक भई हाल परम्परावादी प्रवृत्तिमा कार्य गरिरहेकोमा सो प्रवृत्तिमा सुधार ल्याउन समेत पुँजी बजारबाट के कस्तो फाइदा लिन सकिन्छ सो विषयमा स्पष्ट जानकारी दिनुपर्ने बताउनुभयो ।

बोर्ड अध्यक्ष डा.कार्कीले पुँजी बजारमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई प्रवेश गराउने क्रममा पब्लिक कम्पनीको रुपमा स्थापना हुने उद्योग व्यवसायलाई आयकरमा १५ प्रतिशत छुट दिने व्यवस्था आ.व. २०७३।७४ को बजेट वक्तव्य मार्फत गरिएकोमा सो कार्यलाई थप प्रोत्साहनमूलक बनाई वास्तविक क्षेत्रका कम्पनीहरुलाई पुँजी बजारमा भित्र्याउन तत्कालीन नियमावलीलाई प्रतिस्थापन गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ हालै लागू गरिएको सन्दर्भमा बोर्डले नयाँ निष्काशन निर्देशिका जारी गर्ने पूर्व सन्ध्यामा वास्तविक क्षेत्रका कम्पनीको सुझाव लिन उक्त अन्र्तकृया कार्यक्रम आयोजना गरेको बताउनुभयो । साथै उहाँले वास्तविक क्षेत्रका कम्पनीको प्रवेशसँगै पुँजी बजारले अर्थतन्त्रको ऐना को रुपमा काम गर्ने र पुँजी बजारमा आधारित अर्थतन्त्र नै विश्वसनीय एवं दीर्घकालिन हुने कुरामा जोड दिदै उक्त नियमावलीमा भएको व्यवस्था र आयकरमा १५ प्रतिशत छुटको प्रावधानले पुँजी बजार प्रवेश सम्बन्धी विषय अब वास्तविक क्षेत्रका कम्पनीको हातमा पुगेको बताउनुभयो ।

बोर्डका निर्देशक डा.नवराज अधिकारीले संचालन गर्नुभएको उक्त कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक श्री परिष्टनाथ पौड्यालले कार्यक्रमका सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।