नेपाल धितोपत्र बोर्ड र मनाङ उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा यही मिति २०७५।०२।२६ गते चामेमा पूँजीबजार सम्बन्धमा जनचेतना अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम उद्योग वाणिज्य संघका पदाधिकारी, सरकारी निकायका पदाधिकारी, विभिन्न व्यवसायी, लगानीकर्ता, पत्रकार तथा सर्वसाधारणहरु समेतको गरी उल्लेख्य जनसहभागितामा सम्पन्न भएको छ ।
मनाङ उद्योग वाणिज्य संघका अध्यक्ष छिरीङ धोज्रे लामाको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि मनाङ जिल्ला समन्वय समितिका सभापति श्री यज्ञ प्रसाद घलेले बोर्डले गरेको यस्तो सचेतना कार्यक्रमले हिमाल पारीको दुर्गम जिल्ला मनाङबासी सारै खुसी भएको र यसले सहभागीहरुलाई राम्रो शिक्षा दिएको र यस्तो खालको कार्यक्रमलाई निरन्तरता दिनुपर्ने विचार व्यक्त गर्नु भयो । बोर्डका अध्यक्ष डा. रेवत वहादुर कार्कीले पूँजीबजार जनचेतना फैलाउने क्रममा प्रदेश नं ४ को यस दुर्गम जिल्लालाइ समेत विषेश महत्व दिई कार्यक्रम गरिएको बताउँदै नेपालका ७७ वटै जिल्लाबाट सार्वजनिक निष्काशनमा आवेदन दिन सक्ने व्यवस्था गरिसकेको परिप्रेक्ष्यमा यस्तो दुर्गम जिल्लामा समेत ४१० डिम्याट खाता खोलिएवाट यस क्षेत्रमा पूँजीबजार सम्वन्धी सचेतना शुरु भएकोमा खुशी व्यक्त गर्नु भयो । उहाँले देश संघीय संरचना गएको र स्थानीय रुपमा विकासका लागि आवश्यक रकम पनि यस बजारबाट स्थानिय ऋणपत्र मार्फत जुटाउन सकिने भएकोले सोतर्फ पनि सम्बन्धित पक्षहरुको ध्यान जान जरुरी रहेको बताउनुभयो । कार्यक्रमका अध्यक्ष लामाले आफुलाई पूँजीबजारको नयाँ विषय भएको र बोर्डसँगको सहकार्यमा यस्तो महत्वपूर्ण कार्यक्रम गर्न पाउँदा आफू लगाएत मनाङबासी धेरै खुसी भएको बताउँदै यस कार्यक्रमले सहभागीमा सचेतना गराएको हुँदा आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी रुपमा प्रशिक्षण गर्नुपर्ने धारण राख्नु भयो ।
उक्त कार्यक्रममा सहभागीहरुले मनाङमा धितोपत्र दलाल व्यवसायी रहने व्यवस्था हुनुपर्ने । साथैअनलाईन व्यवस्था, करको दर, आस्वा प्रणाली, एफपियो, डिम्याट, डिपीको बारेमा चासो राख्दै, लाभाँश समयमा सोही जिल्लाबाट पाउने व्यवस्था, मनाङ बासीलाई शेयर सम्बन्धमा धेरै कम ज्ञान भएकोले यस्तो कार्यक्रम मनाङमा कम्तीमा बर्षको २ पटक गर्नुपर्ने, शेयर बजार राम्रो रहेछ भन्दै यसका विविध पक्ष लगायतका विषयमा जिज्ञासा राखेका थिए । यसरी उठेका जिज्ञासाका सम्वन्धमा वोर्डका अध्यक्ष तथा कार्यकारी निर्देशकले जवाफ दिनु भएको थियो । सो कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक श्री निरज गिरीले धितोपत्र बजार तथा वस्तु बजारका विविध आयामहरु सम्बन्धमा आफनो प्रस्तुति राख्नु भएको थियोे भने बोर्डका का.मु. अधिकृृत श्री राजु बहादुर जि.सि. ले कार्यक्रम संचालन गर्नु भएको थियो ।
