जाजरकोटमा पूँजीवजार सम्वन्धी जनचेतना अभिवृद्धि कार्यक्रम ।

धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरुको लगानी सम्बन्धमा सचेतताको अभिबृद्धि गर्न तथा पूँजीबजारलाई देशव्यापी वनाउन देशका ७५ वटै जिल्लाहरुमा लगानीकर्ता प्रशिक्षण तथा अन्तर्कृया कार्यक्रमहरु संचालन गर्ने क्रममा भेरी अञ्चलको अधिकांश जिल्लामा कार्यक्रम भैसकेको परिप्रेक्ष्यमा नेपाल धितोपत्र बोर्डले जाजरकोट उद्योग वाणिज्य संघको संयुक्त आयोजनमा सडक पूर्वाधार भैसकेको सन्दर्भमा हालै जाजरकोटमा पूँजीबजार सम्बन्धमा जनचेतना अभिवृद्धि तथा अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ । जाजरकोट उद्योग वाणिज्य संघका उपाध्यक्ष पारस कुमार वाग्लेको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमाा जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पूँजी बजार हाल विश्वव्यापी हुँदै गएको सन्दर्भमा यस कार्यक्रमले शहर केन्द्रित पूँजी बजारले यस जिल्लामा समेत लगानीको लागी वातावरण बनाउने विचार व्यक्त गर्नुभयो ।

बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले उक्त कार्यक्रमलाई सम्वोधन गर्देै काठमाडौं केन्द्रित रहेको पूँजीबजारलाई देशव्यापी वनाउन तथा यस सम्बन्धी जनचेतना बढाउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको जानकारी गराउँदै प्राथमिक बजारमा धितोपत्रको सार्वजनिक निष्काशन कार्यलाई छिटो छरितो र पारदर्शी बनाई सर्वसाधारण लगानीकर्ताहरुले सहज रुपमा धितोपत्र खरीद गर्न सक्ने व्यवस्था गर्न यहि माघ १ गते देखि ASBA (Application Supported by Blocked Amount) प्रणाली लागू गर्ने निर्णय गरेको जानकारी गराउनु भयो । त्यसै गरी २०७३ साउन १ गते देखि काठमाडौं उपत्यका र २०७३ माघ १ गतेबाट उपत्यका बाहिरबाट समेत सार्वजनिक निष्काशनमा दरखास्त दिने दरखास्तवालाहरुले आफ्नो डिम्याट खाता दरखास्त फारममा अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको समेत जानकारी गराउनुभयो । यी सम्पूर्ण व्यवस्था लागू भए पश्चात प्राथमिक बजारमा लगानीकर्ताहरुको पहुँच बढने जानकारी गराउँदै धितोपत्रको दोस्रो बजार कारोवारलाई समेत देशव्यापी बनाउन बोर्डले विभिन्न कार्य तथा नीतिगत सुधारहरु गरिरहेको जानकारी गराउनु भयो । उक्त कार्यक्रमका संघका उपाध्यक्ष पारस कुमार वाग्ले वोर्डसँग संयुक्त आयोजनामा यस्तो कार्यक्रम संचालन गर्न पाएकोमा आभार व्यक्त गर्दे यस कार्यक्रमबाट स्थानीय व्यवसायी तथा लगानीकर्ताहरु लाभान्वित हुने विचार व्यक्त गर्नु भएको थियो ।

त्यसैगरी कार्यक्रममा बोर्डका उपनिर्देशक अम्बिका प्रसाद गिरीले पूँजीबजारका विविध पक्षहरुको वारेमा कार्यपत्र पेश गर्नुभएको थियो भने बोर्डका का.मु. अधिकृृत राजु बहादुर जि.सि. ले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । उक्त कार्यक्रममा स्थानीय सरकारी निकायका पदाधिकारीहरु, जाजरकोट उद्योग वाणिज्य संघका पदाधिकारी, शिक्षक, विद्यार्थी, व्यवसायी, पत्रकार तथा सर्वसाधारण समेतको ठूलो संख्यामा सहभागिता रहेको थियो ।

हालै यस्तो कार्यक्रम क्षेत्रिय सदरमुकाम सुर्खेतको विरेन्द्रनगर र कर्णाली अञ्चलको प्रवेशद्वारको रुपमा रहेको कालिकोटको मान्ममा पनि आयोजना गरिएको थियो ।