आव २०७५।७६ मा अपनाइने धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा छलफल तथा सुझाव सम्बन्धी कार्यक्रम सम्पन्न ।

बोर्डबाट मिति २०७५।०२।२८ मा आव २०७५।७६ मा अपनाइने धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा छलफल तथा सुझाव सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । बोर्ड अध्यक्ष डा.रेवत बहादुर कार्कीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा बोर्डका पूर्व अध्यक्षहरु, नेप्सेका पूर्व महाप्रबन्धक, विश्वविद्यालयका प्राध्यापकहरु, अध्ययन-अनुसन्धानकर्ताहरु, नेप्से तथा सिडिएसका प्रतिनिधिहरु, विभिन्न धितोपत्र बजार व्यवसायी संघका अध्यक्षहरु, लगानीकर्ता संघका पदाधिकारीहरु, पूँजी बजार विज्ञहरु र आर्थिक पत्रकारहरु सहभागी भएका थिए ।

बोर्डका पूर्व अध्यक्ष, श्री दीपकराज काफ्लेले धितोपत्र बजार प्रशिक्षण प्रतिष्ठानको स्थापनलाई तिव्र रुपमा अघि बढाउनुपर्ने, आवश्यक परेको खण्डमा बोर्डमा बाह्य विज्ञको व्यवस्था गर्नुपर्ने, नीतिगत तथा कानूनी व्यवस्था गर्दा सर्वसाधारण तथा सरोकारवालाहरुको धारणा, सल्लाह तथा सुझावलाई मध्यनजर गर्न उपयुक्त नीति तथा प्रक्रिया अवलम्बन गर्नुपर्ने लगायतका सुझावहरु दिनुभयो । यस्तै, बोर्डको अर्का पूर्व अध्यक्ष श्री बाबुराम श्रेष्ठले वर्तमान समयमा पूँजी बजारको चर्चा तथा परिचर्चा चुलिन थालेको बताउँदै कर सम्बन्धी विवादको शिघ्र समाधान हुनुपर्ने, बजार निर्मातालाई भित्र्याउनुपर्ने, संघीयताको स्वरुप अनुसार पूँजी बजारलाई परिवर्तन गर्नुपर्ने लगायतका सुझावहरु दिनुभयो । यस्तै नेप्सेका पूर्व महाप्रबन्धक श्री मुकुन्दनाथ ढुङ्गेलले अध्ययन अनुसन्धानमा आधारित भई पूँजीबजारको विकास गर्नेतर्फ विशेष जोड दिन आवश्यक भएको बताउनुभयो । साथै नेप्सेका वरिष्ठ अधिकृत श्री निरञ्जन फुयाँलले पछिल्लो समय नेप्सेले बोर्डसँग सहकार्य गरी विभिन्न अन्र्तक्रिया कार्यक्रम सञ्चालन गर्न थालेको बताउँदै आगामी दिनमा सो कार्यलाई निरन्तरता दिनुपर्ने र यस्ता प्रशिक्षण कार्यक्रम विभिन्न सरकारी निकायका अधिकृत कर्मचारीहरुका लागि समेत आवश्यक देखिएको धारणा राख्नुभयो । उहाँले नेप्सेका सिस्टम अडिटका लागि आवश्यक मापदण्डहरु/मानकहरु (Standards) विकास गर्न सकेको खण्डमा उक्त कार्य अझ प्रभावकारी हुने बताउनुभयो । सोही कार्यक्रममा सिडिएससीका प्रमुख कार्यकारी अधिकृत श्री देव प्रकाश गुप्ताले डिपोजिटरी ऐन तथा ट्रष्ट ऐनको व्यवस्था यथाशिघ्र आवश्यक भएको बताउनुभयो । कार्यक्रममा इक्रा नेपाल लि. तथा केयर नेपाल लि.का प्रतिनिधिहरुले निष्काशन हुने धितोपत्रको मात्र रेटिङ्ग हुने गरेको बताउँदै यस्तो रेटिङ्ग नियमित हुने व्यवस्था भएमा लगानीकर्तालाई निर्णय लिन सहज हुने बताउँदै प्रत्यक्ष नियमन नहुने संगठित संस्थाको वित्तीय विवरणमा एकरुपता ल्याउनुपर्ने धारणा राख्नुभयो । साथै उहाँहरुले रेटिङ्ग सेवा लिने कम्पनीहरुले रेटिङ्ग संस्थाबााट माग गरिएका विवरणहरु उपलब्ध गराउनमा ढिलाई गर्ने गरेकाले रेटिङ्ग कार्यमा ढिलाई तथा कठिनाई समेत हुने गरेको र यसमा सुधारका लागि नियमन निकायले आवश्यक निर्देशन दिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा मर्चेन्ट बैंकर्स एशोसियसन अफ नेपालका अध्यक्ष, श्री ध्रुव प्रसाद तिमिल्सनाले चालु आवमा बजार विकास तथा विस्तारका लागि बोर्डले चालेका कदमहरुको प्रशंसा गर्दै हालको बद्लिदो परिस्थितिमा पूँजी बजारका लागि अवसर तथा चुनौतीहरु थपिएकोे बताउनु भयो । उहाँले पूँजीबजारमा वास्तविक क्षेत्रको प्रवेशका क्रममा धितोपत्रको निष्काशन मूल्य तथा अन्डराइटिङ्ग प्रक्रियामा संवेदनशील हुनुपर्ने, भेञ्चर क्यापिटल तथा प्राइभेट इक्विटीको नीतिगत व्यवस्थासँगै संस्थागत व्यवस्थातर्फ पनि ध्यान दिनुपर्ने, दोस्रो बजारमा बढेको धितोपत्रको आपूर्तिलाई सन्तुलनमा ल्याउन मार्केट मेकर तथा डिलरको व्यवस्था गर्नुपर्ने लगायतका सुझावहरु दिनुभएको थियो । उहाँले बजारको विकास तथा विस्तारका लागि बोर्ड मात्र नभएर बजारका सम्पूर्ण सहभागीहरुसमेत उत्तिकै जिम्मेवार रहनुपर्ने बताउनुभयो । त्यस्तै, स्टक ब्रोकर एशोसियसन अफ नेपालका अध्यक्ष, श्री प्रियराज रेग्मीले दोस्रो बजारको पहुँच विस्तार हुने क्रममा रहेकोमा अनलाइन कारोबार प्रणालीसँगै धितोपत्र बजारका अन्य सेवाहरु पनि देशव्यापी रुपमा सर्वसुलभ हुनुपर्ने बताउनुभयो । उहाँले अनलाइन कारोबार प्रणाली लागू गर्नका लागि सम्बन्धित ऐन तथा नियमावलीमा पनि आवश्यक व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो । दोस्रो बजारको कारोबारमा निहित जोखिम व्यवस्थापनका लागि आवश्यक संयन्त्रको विकास गर्नुपर्ने, अल्पकालीन औजारहरुको व्यवस्थाका साथै धितोपत्र दलाल व्यवसायीको संस्थागत विकासतर्फ समेत ध्यान दिनुपर्ने बताउनुभयो ।

शेयर लगानीकर्ता संघका अध्यक्ष श्री उत्तम अर्यालले प्राथमिक बजारको नियमन, सुधार तथा विकासका लागि बोर्डले गरेका कार्यहरु उत्कृष्ट रहेको र दोस्रो बजारको सुधार तथा विकासका लागि समेत सोही अनुसारको पहल गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले हकप्रद तथा बोनस सेयर सूचीकरणमा ढिलाई हुने गरेको, सूचीकृत कम्पनीको बोर्ड बैठकमा भएका निर्णयहरुको उचीत सम्प्रेषण नहुने गरेकोमा यसतफ बोर्डको ध्यान जानुपर्ने बताउनुभयो । यस्तै, नेपाल पूँजी बजार लगानीकर्ता संघका अध्यक्ष श्री नवराज सुवेदीले अबको धितोपत्र बजार पूर्णतया पूर्वाधारमैत्री, प्रविधिमैत्री हुनुपर्ने धारणा राख्दै प्रत्येक त्रैमासिक अवधिमा बोर्डले कम्तिमा एकपटक सार्वजनिक सुनुवाई कार्यक्रम राख्नुपर्ने, दोस्रो बजारमा लाग्ने गरेको ब्रोकर कमिशन छिमेकी बजार लगायत विश्वका अन्य धितोपत्र बजारको तुलनामा निकै बढी भएकोले ब्रोकर कमिशनलाई पुनरावलोकन गर्नुपर्ने तथा सूचना सम्प्रेषणमा आवश्यक सुधार ल्याउनुपर्र्ने बताउनुभयो । साथै, नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष श्री छोटलाल रौनियारले पूँजीगत लाभकर सम्बन्धी विवादले बजारलाई हतोत्साही बनाएको तथा दीर्घकालीन अवधिको लागि लगानी गर्ने लगानीकर्तालाई निरुत्साहित बनाएको बताउनुभयो । उहाँले अनलाइन कारोबार प्रणालीको शिघ्र कार्यान्वयन गर्नुपर्ने, बैकलाई ब्रोकरको अनुमति दिनुपर्ने, एनआरएन तथा बजार निर्माता प्रवेशलाई सहजीकरण गर्न ढिलाई गर्न नहुने, नेप्सेको निजीकरण तथा पुर्नसंरचनालाई टुङ्गोमा पु¥याउनुपर्ने, मार्जिन ऋणको वर्तमान व्यवस्था तथा बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत रहेकोमा यसप्रति पुनरावलोकन गर्न आवश्यक पहल गर्नुपर्ने बताउनुभयो । उहाँले जलविद्युत क्षेत्रको लगानीमा जोखिम बढ्दै गएको बताउँदै यसको प्रभावकारी नियमन गर्नुपर्ने, लगानीकर्ता संरक्षण ऐन ल्याउनुपर्ने सुझाव दिनुभयो । धितोपत्र दलाल व्यवसायी श्री सन्तोष मैनालीले वस्तु विनिमय बजारको माध्यमबाट स्थानीय वस्तुलाई प्रवद्र्धन गर्नुपर्ने धारणा राख्दै प्रभावकारी मुद्रा बजारको अभावका कारण वित्तीय सम्पतिको वास्तविक मूल्य गणना गर्न नसकिएको तथा ऋणपत्र बजार विकासका लागि ढिलाई भइसकेको बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका बोर्ड अध्यक्ष डा. कार्कीले पछिल्लो समय दुर्गम जिल्लाहरुमा समेत पूँजी बजारका गतिविधिहरु सञ्चालन हुन थालेको, पूँजी बजारको सम्बन्धमा लगानीकर्ताबाट हुने गुनासाहरुमा कमी हुँदै गएको बताउँदै कार्यक्रममा प्राप्त भएका रचनात्मक सुझावहरुलाई समावेश गरी आगामी वर्षको नीति तथा कार्यक्रम जारी गर्न बोर्ड प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले रजत जयन्तीको अवसरमा बोर्डले धितोपत्र सम्बन्धी नीति तथा कार्यक्रमको सार्वजनिक प्रकाशनको शुरुवात गरी बोर्डलाई थप जिम्मेवार र जवाफदेही बनाइएको स्मरण गर्दै यस कार्यलाई आगामी दिनमा निरन्तरता दिने बताउनुभयो ।

बोर्डका कार्यकारी निर्देशक श्री परिष्टनाथ पौड्यालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको सो कार्यक्रममा धितोपत्र बजारको वर्तमान अवस्था, बोर्डको कार्य प्रगति र छलफलका विषयहरु सम्बन्धमा बोर्डका निर्देशक डा.नवराज अधिकारीले प्रस्तुति दिनुभएको थियो भने बोर्डका कार्यकारी निर्देशक श्री निरज गिरीले कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीहरुमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । उक्त कार्यक्रम बोर्डका उप निर्देशक श्री नारायण प्रसाद शर्माले सञ्चालन गर्नुभएको थियो ।