प्रदेश नं. १ को दुर्गम जिल्ला खोटाङमा पूँजी बजार सम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न ।

नेपाल धितोपत्र बोर्ड र खोटाङ उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा मिति २०७५।०३।१६ गते दिक्तेल बजारमा पूँजीबजार सम्बन्धमा जनचेतना अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम उक्त संघका अध्यक्ष राजेन्द्र लयालुको सभापतित्वमा र जिल्ला समन्वय समितिका सभापति श्री बबि चाम्लिङको प्रमुख आतिथ्यता तथा बोर्डका अध्यक्ष डा. रेवत वहादुर कार्कीको बिशेष आथित्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा खोटाङ जिल्लाको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल, रुपाकोट मजुवागढी नगरपालिका प्रमुख दिपनारायण रिजाल, बोर्डको निर्देशक डा. नवराज अधिकारी, प्रहरी नायव उपरिक्षक लोक दर्शन थापा बिशेष अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । अन्य सहभागीहरुमा खोटाङ उद्योग बाणिज्य संघका पदाधिकारी, सरकारी तथा गैर सरकारी निकायका पदाधिकारी, स्थानीय उद्योग व्यवसायी, लगानीकर्ता, पत्रकार तथा सर्वसाधारणहरु समेतको गरी उल्लेख्य जनसहभागिता रहेको उक्त कार्यक्रममा बोर्डका निर्देशक डा. अधिकारीले धितोपत्र बजार तथा वस्तु विनिमय बजारका आधारभुत पक्षहरुका सम्बन्धमा प्रस्तुतिकरण गर्नुु भएको थियोे । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति श्री बबि चाम्लिङले बोर्डले पूँजीबजार सचेतना कार्यक्रम खोटाङ जिल्लामा आयोजना गरेकोमा खुसी व्यक्त गर्दै कार्यक्रमले शेयर बजारमा लगानी गर्न चाहने लगानीकर्ताहरुलाई राम्रो शिक्षा दिनुकासाथैे यस क्षेत्रका सम्वन्धित पक्षहरुलाई धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धमा थप जानकारी प्राप्त गर्न उत्सुकता बढाएको धारण व्यक्त गर्नुभयो । प्रमुख अतिथि श्री चाम्लिङले यस प्रकारको कार्यक्रमलाई भबिष्यमा निरन्तरता दिनुपर्ने र त्यसका लागि आवश्यक सहयोग तथा समन्वय गर्न आफू सदा तत्पर रहेको विचार व्यक्त गर्नु भयो । उहाँले खोटाङ जिल्लामा जलविद्युत आयोजनाहरुको समेत संम्भावना रहेको र उक्त क्षेत्रको विकासको लागि स्थानीय पूँजी परिचालन गरी खोटाङवासीलाई पूँजी बजारमा सहभागी गराउन सकिने धारणा समेत राख्नुभएको थियो । कार्यक्रमका बिषेश अतिथि रुपाकोट मजुवागढी नगरपालिकाको मेयर रिजालले धितोपत्र बजार तथा वस्तु बजारसम्बन्धी जनचेतना अभिबृद्धि तथा लगानीकर्ता प्रशिक्षण कार्यक्रम खोटाङ जिल्लाको लागि पहिलो कार्यक्रम भएको र मौसमी प्रतिकूलताको बाबजुद देशको यो दुर्गम जिल्लामा आई कार्यक्रम गरेकोमा नेपाल धितोपत्र बोर्डलाई धन्यवाद दिदै कार्यक्रमबाट धितोपत्र बजारमा दीर्घकालिन सोच सहित धैर्यतापूर्वक लगानी गरेमा राम्रो हुने जानकारी प्राप्त गरेको विचार व्यक्त गर्नुभयो । बोर्डका अध्यक्ष डा. कार्कीले पूँजी बजारमा उतारचढाव हुने भएकाले यस्तो अवस्थामा लगानीकर्ताले अझ सुझबुझ पूर्ण तरिकाले यससम्बन्धी ज्ञान अभिबृद्धि गरी लगानी गर्न जरुरी रहेको बताउनु भयो । बोर्डले यस्तै किसिमको प्रशिक्षण कार्यक्रम गरी जनचेतना फैलाउने क्रममा दुर्गम जिल्लालाई समेत महत्व दिई कार्यक्रम गरिएको बताउँदै नेपालका सबै जिल्लाबाट सार्वजनिक निष्काशनमा आवेदन दिन सक्ने व्यवस्था गरिसकेको र आगामी श्रावणबाट अनलाईन मार्फत दास्रो बजारमा कारोबार गर्न सकिने व्यवस्था गर्न अन्तिम तयारी भईरहेको जानकारी गराउनु भयो । देश संघीय संरचना गएको र स्थानीय रुपमा विकासका लागि आवश्यक रकम यस बजारबाट स्थानीय ऋणपत्र निष्काशन मार्फत जुटाउन सकिने भएकोले सोतर्फ सम्बन्धित पक्षहरुको ध्यान जान जरुरी रहेको बताउनुभयो । त्यसैगरी प्रमुख जिल्ला अधिकारी श्री पौडेलले हालैका दिनहरुमा विभिन्न जलविद्युत कम्पनीहरुले सार्वजनिक निष्काशन गरेको हुँदा यसले धेरै तिर शेयर सम्बन्धी जिज्ञासाहरु बढेको बताउँदै खोटाङ जिल्लाको आर्थिक गतिविधिलाई पूँजीबजारसंग जोडिनुपर्ने सन्दर्भमा बोर्डले आयोजना गरेको जनचेतना अभिबृद्धि तथा लगानीकर्ता प्रशिक्षण कार्यक्रम समय सान्दर्भिक रहेको विचार व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा सहभागीहरुले खोटाङमा समेत धितोपत्र दलाल व्यवसायी रहने व्यवस्था हुनुपर्ने माग सहित, अनलाईन व्यवस्था, करको दर, आस्वा प्रणाली, एफपियो, डिम्याट, डिपीको बारेमा जिज्ञासा राखेका थिए । यसरी उठेका जिज्ञासाका सम्वन्धमा वोर्डका पदाधिकारीले जवाफ दिनु भएको थियो । खोटाङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उपिन कुमार राईले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रम सो संघका महासचिव सुमन जोशीले संचालन गर्नु भएको थियो ।