नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा पत्रकारको क्षमता अभिवृद्धिका लागि आयोजित कार्यक्रममा बोर्ड अध्यक्षज्युबाट सम्बोधन ।

सत्य एवं तथ्यपरक सूचना प्रवाहले समग्र पत्रकारिताको प्रभावकारिता र विश्वसनियता अभिवृद्धि हुनेः बोर्ड अध्यक्ष श्री ढुंगाना।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष श्री भिष्म राज ढुंगानाज्यूले पूँजी बजारमा लगानीकर्ताको लागि सूचना नै सम्पत्तिको रूपमा रहने र लगानीको प्रमुख आधार भएको हुँदा आर्थिक पत्रकारहरूले कसैप्रति पूर्वाग्राह नराखी सूचना सम्प्रेषण गर्नुपर्ने बताउनुभयो।आज मिति 2077 चैत 24 मा नेपाल मर्चेन्ट बैंकर्स संघले नेपाल आर्थिक पत्रकार संघ (NAFIJ) को सहकार्यमा आर्थिक पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै उहाँले उक्त धारणा राख्नुभएको हो।कार्यक्रममा अध्यक्ष श्री ढुंगानाले आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरूको क्षमता अभिवृद्धि गर्दै बजारका विषयवस्तुहरूको स्पष्ट एवं गहिरो ज्ञान वृद्धिका लागि यस प्रकारको कार्यक्रमले विशेष महत्व राख्ने बताउदै कार्यक्रममा सहभागीहरूलाई हौसला प्रदान गर्नुभयो।साथै बोर्डले समेत विगतमा प्रादेशिक स्तरमा आर्थिक पत्रकारहरूका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको स्मरण गर्दै यस्तो प्रकृतिको कार्यक्रम मर्चेन्ट बैंकरबाट समेत सञ्चालन हुन थालेकोमा खुशी व्यक्त गर्नुभयो।

कार्यक्रममा अध्यक्ष श्री ढुंगानाले पूँजी बजार प्राविधिक एवं संवेदनशिल बजार भएको हुनाले सूचना सम्प्रेषणमा विशेष सावधानी अपनाउन पत्रकारहरूलाई आव्हान गर्नुभयो।उहाँले सूचना सम्प्रेषणमा हुने सानो असावधानीले पनि बजारमा निकै ठूलो असर पर्ने र सर्वसाधारणको सम्पतिमा क्षण भरमै क्षयीकरण हुने सम्भावना रहेको हुँदा यस क्षेत्रमा समाचार लेख्दा विषयवस्तुको गाम्भिर्यता बुझी सत्य र तथ्यपूरक सूचना सम्प्रेषणमा मात्र जोड दिनुपर्ने बताउनुभयो।यसले पत्रकारको क्षमता अभिवृद्धि हुने र समग्रमा पत्रकारिता जगतको नै विश्वसनियता एवं प्रभावकारिता बढ्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा उहाँले बोर्डको पछिल्लो प्रयासका कारण प्राथमिक बजारको स्वरूप र मर्चेन्ट बैंकरको भूमिका विस्तार हुँदै गएको र यससँगै प्रतिष्पर्धा समेत उच्च बन्दै गएको पृष्ठभूमिमा व्यवसायिकता अभिवृद्धिमार्फत् उच्च कार्यकुशलता प्रदर्शन गर्न सबै मर्चेन्ट बैंकहरूलाई निर्देशन दिनुभयो साथै उहाँले मर्चेन्ट बैंकरसँग रहेका समस्याको समाधान गर्दै यस क्षेत्रको विकास विस्तारका लागि बोर्ड तयार रहेको समेत बताउनुभयो।कार्यक्रममा उहाँले धितोपत्र व्यवसायीहरूबाट सामाजिक उत्तरदायित्वसम्बन्धी गतिविधि सञ्चालन सम्बन्धमा समेत नीतिगत व्यवस्था गरेको स्मरण समेत गर्नुभएको थियो।कार्यक्रममा बोर्डका उप कार्यकारी निर्देशक श्री रूपेश के.सी. र मर्चेन्ट बैंकरकातर्फबाट श्री पारसमणि ढकालले बुक बिल्डिङ्गसम्बन्धी आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

२०७७ चैत २४, मङ्लबार।                                                                                                                                                          अध्यक्षको कार्यालय

                                                                                                                                                                                                     नेपाल धितोपत्र बोर्ड