नेपाल धितोपत्र बोर्डका अध्यक्षज्यूबाट माछापुच्छ्रे कृति क्यापिटल लि.को एकिकृत कारोवार समुद्घाटन ।

बोर्ड अध्यक्ष श्री भिष्म राज ढुंगानाज्यूले बोर्डबाट मर्चेण्ट बैंकिङ्ग व्यवसाय गर्न अनुमतिपत्र प्राप्त मर्चेण्ट बैंकरहरु माछापुच्छ्रे क्यापिटल लि. र कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट्स लि. एक आपसमा गाभिई बनेको माछापुच्छ्रे कृति क्यापिटल लि.को एकिकृत कारोवारको समुद्घाटन उक्त मर्चेन्ट बैंकरको बागदरवार, सुन्धार स्थित केन्द्रीय कार्यालयमा आज एक कार्यक्रमबीच गर्नुभयो ।

कार्यक्रममा बोर्ड अध्यक्ष श्री ढुंगानाज्यूले माछापुच्छ्रे कृति क्यापिटल लि.लाई व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्दै नेपालको पूँजी बजारमा मर्चेण्ट बैंकरको प्रवेश भएको २७ वर्षभन्दा बढी भइसकेको र पछिल्लो समय यो व्यवसाय क्रमश विकास हुदै गइरहेकोले मर्चेण्ट बैंकरले आफ्नो प्रतिष्पर्धात्मक क्षमता अभिबृद्धि गर्दै जानुपर्ने बताउनुभयो । उहाँले विकशित देशमा बजार पूँजीकरण भन्दा ३/४ गुणासम्म सामूहिक लगानी कोषमार्फत् पूँजी परिचालन हुने गरेको सन्दर्भमा नेपालमा समेत यसको व्यापक सम्भावना रहेकोले यसको विकाशमा मर्चेण्ट बैंकरले भूमिका खेल्नुपर्ने बताउनु भयो । त्यस्तै, उहाँले संस्थागत परामर्श सेवा, विशिष्टिकृत लगानी कोष (प्राइभेट इक्विटि, भेञ्चर क्यापिटल) व्यवस्थापन, ऋणपत्र तथा स्वपूँजी लगानी परामर्श, निश्चित प्रतिशत प्रतिफल सुनिश्चितता सहितको लगानी परामर्श सेवा, विदेशी संस्थागत लगानीकर्ता तथा गैर आवासीय नेपालीमार्फत् विदेशी श्रोतको परिचालन लगायतमा समेत मर्चेण्ट बैंकरले भूमिका खेल्नुपर्नेमा विशेष जोड दिनुभयो । साथै, उहाँले मर्जपश्चात् उच्च व्यवस्थापन र कर्मचारी समेतको उचित व्यवस्थापन हुन सके मात्र मर्ज सफल हुने भएकोले यस विषयमा माछापुच्छ्रे कृति क्यापिटल लि.ले विशेष ध्यान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा माछापुच्छ्रे बैंक लि.का अध्यक्ष डा.विरेन्द्र प्रसाद महतो विशेष अतिथिको रुपमा रहनुभएको थियो भने कार्यक्रममा माछापुच्छ्रे बैंक लि.का प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोइराला,माछापुच्छ्रे कृति क्यापिटल लि.का अध्यक्ष श्री विश्वम्भर न्यौपाने, माछापुच्छ्रे कृति क्यापिटल लि.का अन्य संचालक तथा प्रमुख कार्यकारी अधिकृत श्री दिपेश कुमार वैद्यको उपस्थिति रहेको थियो ।

मितिः २०७७।१०।०२