धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नियमन र कानूनी व्यवस्था विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

नेपाल धितोपत्र बोर्ड र नेपाल बार एशोसिएशन–महिला समितिद्वारा संयुक्त रुपमा मिति २०७५ भाद्र २२ मा धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नियमन र कानूनी व्यवस्था विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भयो । एशोसिएशनका उपाध्यक्ष श्री उषा मल्ल पाठकको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा सर्वोच्च अदालतका माननीय न्यायाधिश श्री सपना प्रधान मल्लको प्रमुख अतिथि रहनुभएको सो कार्यक्रमको उद्देश्य धितोपत्र तथा वस्तु विनिमय बजारमा रहेका कानूनी व्यवस्था तथा अभ्यासहरुको बारेमा विशेष गरी महिला कानून व्यवसायीहरुलाई जानकारी दिने रहेको थियो । करिब १३५ महिला कानून व्यवसायीहरु सहभागी हुनुभएकोे सो कार्यक्रममा सहभागीहरुलाई स्वागत मन्तव्य दिदै एशोसिएशनका उपाध्यक्ष श्री मोतिराज गौतम (मध्यमाञ्चल) ले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको धितोपत्र बजार पछिल्लो समय सर्वाधिक चर्चाको विषय हुन पुगेकोले यस बजारमा रहेका कानूनी व्यवस्था, अभ्यास र बोर्डका पहलहरुको बारेमा जानकारीका लागि यस कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै विशेष अतिथिका रुपमा रहनुभएका बोर्ड अध्यक्ष डा.रेवत बहादुर कार्कीले यस प्रकारको कार्यक्रम माननीय न्यायाधिश तथा कानून व्यवसायीहरुलाई विगतमा पनि भएको स्मरण गर्दैै यस पटक खासगरी महिला कानून व्यवसायीलाई लक्षित गरिएको यस कार्यक्रमको छुट्टै महत्व भएको बताउनुभयो । उहाँले धितोपत्र तथा वस्तु विनिमय बजार तथा यस अन्र्तगत रहेका ४०० भन्दा बढी संस्थाको नियमन गर्ने साथै अर्धन्यायिक निकायको हैसियतले तहकीकात देखि जरिवाना गर्ने सम्मको अधिकार पाएको बोर्ड एक छुट्टै विशिष्टता भएको नियमन निकायको रुपमा रहेको बताउनुभयो । संघियता कार्यान्वयनसँगै देश स्थायित्वतर्फ उन्मुख भइरहेको परिप्रेक्ष्यमा अर्थतन्त्रलाई गतिशिल बनाउन आवश्यक पूँजी परिचालनको सशक्त माध्यमको रुपमा रहेको धितोपत्र बजारलाई आधुनिक, प्रविधिमैत्री, स्वच्छ तथा प्रभावकारी बजारको रुपमा विकास गर्न बोर्ड निरन्तर लागिरहेको बताउनुभयो । कार्यक्रममा विशेष अतिथिको रुपमा रहनुभएका नेपाल बार एशोसिएशनका अध्यक्ष श्री शेर बहादुर के.सी.ले धितोपत्र बजार वाणिज्य कानून तथा आर्थिक मामिलासँग सम्बन्धित विषय भएकोले कानून व्यवसायी जानकार हुनुपर्ने धारणा राख्दै यसबारे महिला कानून व्यवसायीलाई जानकारी दिन बोर्डले गरेको पहलका लागि बोर्डलाई धन्यवाद दिनुभयो । तीन वटा छुट्टाछुट्टै विषय शीर्षकहरुमा प्रस्तुति रहेको कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक श्री परिष्टनाथ पौडेलले धितोपत्र बजारको वर्तमान अवस्था र नियमन व्यवस्थामा प्रस्तुतिकरण दिनुभएको थियो भने बोर्डका निर्देशक श्री मुक्तिनाथ श्रेष्ठले नेपाल धितोपत्र बोर्ड सम्बन्धी कानूनी व्यवस्थामा प्रस्तुतिकरण गर्नुभएको थियो । साथै नेप्सेका का.मु. प्रबन्धक श्री निरञ्जन फुयाँलले धितोपत्रको दोस्रो बजार शीर्षकमा प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले नेप्से सूचकांकको उत्तारचढाव र त्यसको अर्थतन्त्रमा प्रभाव, धितोपत्रको कारोबारमा हुन सक्ने कसूरहरु, भित्री कारोबार, सार्वजनिक निष्काशनमा धितोपत्रको बाँडफाँड, कम्पनी मर्जरमा देखिएका समस्याहरु, डिम्याट खाताको सञ्चालन लगायतका विषयहरुमा जिज्ञासामा बोर्डका अध्यक्ष डा. कार्कीले जवाफ दिनुभएकोे थियो । कार्यक्रमका प्रमुख अतिथि माननीय न्यायाधिश श्री सपना प्रधान मल्लले प्रस्तुुत कार्यक्रम आर्थिक शशक्तिकरणसँग जोडिएको सन्दर्भ उठाउँदै सहभागी महिला कानून व्यवसायी विभिन्न स्वरुपमा धितोपत्र बजारमा रहेको देख्दा आफु उत्साहित रहेको बताउनुभयो । उहाँले बोर्डको भूमिका राज्यको लक्ष्यसँग जोडिएको बताउँदै नियमन निकायको हैसियतले बोर्डले आफूलाई सहजकर्ताको रुपमा विकास गर्दै लैजानुपर्ने, संगठित लगानीको अभाव रहेको अवस्थामा विदेशी लगानी समेत प्रोत्साहित हुने गरी बजारको नियमन तथा सुपरिवेक्षण गर्नुपर्ने, स्वच्छ सूचनाको प्रभावकारी रुपमा व्यापक सञ्चार हुनुपर्ने, भित्री कारोबार निरुत्साहित गर्नुपर्ने धारणा राख्नुभयो । साथै, धितोपत्र पनि महत्वपूर्ण सम्पति भएकोले पछिल्लो समय वित्तीय अपराधका घट्नाहरु बढ्दै गएको सन्दर्भमा बोर्ड र कानून व्यवसायीका गतिविधिहरुमा सहकार्य तथा सामञ्जस्यता ल्याउन आवश्यक रहेको बताउनुभयो । कार्यक्रमको अध्यक्षता गर्नुभएका नेपाल बार एशोसिएशनका उपाध्यक्ष श्री पाठकले देशको आर्थिक विकासमा बोर्डको भूमिका महत्वपूर्ण रहेको बताउँदै धितोपत्र बजारमार्फत् हुने लगानीलाई उत्पादनमूलक बनाउनुपर्ने धारणा राख्नुभयो । साथै उहाँले कानून व्यवसायीले राख्ने बृहत ज्ञानमा धितोपत्र बजारलाई पनि प्राथमिकता दिनुपर्ने बताउँदै कार्यक्रमको समापन गर्नुभयो । बोर्डका कार्यकारी निर्देशक श्री निरज गिरीले कार्यक्रम उपस्थित सम्पूर्ण सहभागीलाई धन्यवाद दिदै आगामी दिनमा पनि बोर्डले यस प्रकारको कार्यक्रम आयोजना गर्ने बताउनु भयो । कार्यक्रमको सञ्चालन नेपाल बार एशोसिएशनका अधिवक्ता श्री विष्णुमाया भुषालले गर्नुभएको थियो ।